मुम्बई: निर्माता तथा अल्लु अर्जुनका पिता अल्लु अरविन्दले ‘पुष्पा २’ को प्रिमियर स्क्रिनिङका क्रममा भएको दुर्घटनामा ज्यान गुमाएकी रेवतीको परिवारलाई रु० २ करोड दिने वाचा गरेका छन्। हैदराबादको दिलशुकनगर निवासी ३९ वर्षीया रेवतीको थिएटरमा भएको भगदडका कारण निधन भएको थियो भने उनको आठ वर्षीय छोरा श्रीतेज गम्भीर रूपमा घाइते भएका थिए। घटनाको सन्दर्भमा पक्राउ परेका अल्लु अर्जुनलाई १४ दिनको न्यायिक हिरासतमा राखिएको थियो। यद्यपि, तेलंगाना उच्च अदालतले उनलाई चार हप्ताको अन्तरिम जमानत दिएको छ। मंगलबार अनुसन्धान टोलीले अल्लु अर्जुनसँग यस घटनाबारे सोधपुछ गरेको थियो। यसबीच, अल्लु अरविन्द श्रीतेजको उपचार भइरहेको निजी अस्पताल पुगेका थिए र डाक्टरहरूसँग उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। अल्लुले श्रीतेजको अवस्था सुधारोन्मुख रहेको र उनी अहिले राम्रोसँग सास फेर्न सकिरहेको बताएका छन्। रेवतीको परिवारलाई रु २ करोड सहयोग प्रदान गरिनेछ। यसमध्ये र० १ करोड अल्लु अर्जुनले दिनेछन् भने बाँकी रकम मैत्री मुभीका निर्माता र निर्देशक सुकुमारले आधा-आधा योगदान गर्नेछन्। यो रकम तेलंगाना सिनेमा विकास निगमका अध्यक्ष दिल राजू मार्फत प्रदान गरिनेछ। कानुनी कारणले गर्दा रेवतीको परिवारसँग प्रत्यक्ष सम्पर्क गर्न नसकिएको जनाइएको छ। यो दुःखद घटना यसै महिनाको ४ तारिखमा हैदराबादको सन्ध्या थिएटरमा भएको थियो। रेवती आफ्नो पति भास्कर, छोरा श्रीतेज र छोरी सानवीसँग प्रिमियर शो हेर्न गएकी थिइन्। अल्लु अर्जुनको अप्रत्याशित उपस्थितिका कारण भेला भएको भीडले भगदड मच्चाएपछि रेवतीको ज्यान गएको थियो। यस घटनामा संलग्न भएको आरोपमा सन्ध्या थिएटरका मालिक, प्रबन्धक र सुरक्षा प्रमुखविरुद्ध मुद्दा दायर गरिएको छ। पछि, अल्लु अर्जुनलाई समेत घटनामा आरोपी बनाउँदै पक्राउ गरिएको थियो। एक दिन जेलमा बिताएपछि उनलाई रिहा गरिएको थियो।










