क्रिसमसको दिन रुसले युक्रेनका धेरै शहरमा ब्यालेस्टिक र क्रुज मिसाइलले आक्रमण गर्न थालेको छ। युक्रेनका ऊर्जा मन्त्री जर्मन गालुसेन्कोले भने, “शत्रुले फेरि हाम्रा ऊर्जा संयन्त्रहरूमा ठूलो मात्रामा आक्रमण गरिरहेको छ।” यी आक्रमणका कारण विद्युत् आपूर्ति तत्कालका लागि बन्द गरिएको उनले बताए । युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा धेरै विष्फोटहरू भएका छन्। ऊर्जा मन्त्रीले सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्। हमला रोकिएपछि मात्र विद्युत कम्पनीले क्षतिको आँकलन गर्ने उनले बताए। खार्किभका मेयर इओर तेरेखोभले शहरमा ठूलो मात्रामा मिसाइल प्रहार गरिएको बताएका छन्। उनले शृङ्खलाबद्ध विस्फोटको आवाज सुनिएको र कम्तीमा तीन जना घाइते भएको बताएका छन्। जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ। यद्यपि शहरका क्षेत्रीय प्रमुख ओलेह सिनिहुबोभले रुसी हवाई आक्रमणमा कम्तीमा ६ जना घाइते भएको बताएका छन्। धेरै भवनमा क्षति पुगेको जानकारी आएको छ। यो शहर युक्रेनको उत्तर-पूर्वी क्षेत्रमा पर्छ जुन रुसको सिमाना नजिक छ। हालैका महिनाहरूमा रुसले युक्रेनको अधिकांश पावर ग्रिडमा आक्रमण गरेको छ। जसका कारण राजधानी किभ, निप्रो र युक्रेनको अन्य धेरै क्षेत्रमा धेरै पटक ब्ल्याकआउट जस्तो अवस्था देखिएको छ। युक्रेनको सबैभन्दा ठूलो निजी विद्युत कम्पनी डिटेकले रुसले आफ्नो थर्मल पावर प्लान्टमा आक्रमण गरी गम्भीर क्षति पुर्याएको बताएको छ। कम्पनीले किभ, निप्रोपेट्रोभस्क र ओडेसामा विद्युत आपूर्ति अवरुद्ध हुने बताएको छ। कम्पनीले यो वर्ष युक्रेनी उर्जा प्लान्टमा रुसले गरेको १३औं आक्रमण भएको पनि बताएको छ।










