नयाँ दिल्ली: केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहले नयाँ दिल्लीस्थित केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ)को मुख्यालयको भ्रमण गरे। गृहमन्त्रीले सीआरपीएफका वरिष्ठ अधिकारीहरूसँग भेटघाट गरी सीआरपीएफको सञ्चालन र प्रशासनिक प्रदर्शनको विस्तृत समीक्षा गरे। यस बैठकमा केन्द्रीय गृह सचिवसहित गृह मन्त्रालयका धेरै वरिष्ठ अधिकारीहरू उपस्थित थिए।

बैठकका क्रममा सीआरपीएफका महानिर्देशक अनीश दयाल सिंहले गृहमन्त्रीलाई सीआरपीएफका शहीद जवानहरूको परिवारका लागि संचालित विभिन्न कल्याणकारी योजनाहरू र अनुकम्पा आधारित नियुक्तिहरूबारे जानकारी गराए।

गृहमन्त्री अमित शाहले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशमा आन्तरिक सुरक्षा र शान्ति कायम गर्नमा सीआरपीएफ ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।‘ उनले नक्सलवाद नियन्त्रण गर्न, पूर्वोत्तर राज्यहरू र जम्मू–कश्मीरमा शान्ति तथा स्थायित्व कायम गर्न सीआरपीएफले प्रशंसनीय कार्य गरेको बताए।

गृहमन्त्री शाहले भाषागत एकतालाई बलियो बनाउन सीआरपीएफको दैनिक कामकाजमा हिन्दी भाषाको प्रवर्द्धनको महत्त्वमाथि जोड दिए। साथै, उनले जवानहरूको स्वास्थ्य सुधारका लागि ‘श्री अन्न’ (मोटो अनाज) को बढ्दो उपयोग र आयुर्वेदलाई प्रोत्साहन गर्न प्रकृति परीक्षण अभियानअन्तर्गत यसको उपयोगको आह्वान गरे।उनको यो भ्रमण सीआरपीएफको राष्ट्रिय सुरक्षाप्रतिको प्रतिबद्धता र राष्ट्र निर्माणमा यसको बहुआयामिक योगदानप्रति सरकारको मान्यतालाई प्रस्ट्याउँछ। -पीआईबी