भक्तपुर: आफ्नै छोरा र दाइद्वारा हत्या गरिएका कुलप्रसाद आचार्य र प्रवीणको मंगलबार राति अन्त्येष्टि गरिएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका-२, बालकोटस्थित डेरामा सोमबार बिहान खोटाङका ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीण मृत भेटिएका थिए।
उनीहरूको हत्या कुलप्रसादकै २५ वर्षीय जेठा छोरा मिलनबाट भएको स्वयं उनले स्वीकार गरिसकेका छन्। मृतकहरूलाई कुलप्रसादका ८१ वर्षीय बुबा षडानन्द आचार्यले दागबत्ती दिए। हिन्दु संस्कारको मृत्यु संस्कारअनुसार जेठो छोराका नाताले मिलनले नै दागबत्ती दिनुपर्ने हो। तर, परिवारका सबै उनीप्रति आक्रोशित भएका कारण त्यस्तो नगरिएको बताइएको छ।
दाहसंस्कारपछि षडानन्द नरेफाँटस्थित मनहरास्थित किरियापुत्री भवनमा काममा बसेका छन्। कुलप्रसादकी पत्नी रेजिना पनि श्रीमानको किरियामा छिन्।










