कालेबुङ: कालेबुङ जिल्ला हेडमास्टर एसोसिएसनले जिल्लाका विभिन्न विद्यालयका १४ जना शिक्षक-शिक्षिकाहरूलाई सम्मान जनाएको छ। लामो समयदेखि शिक्षण पेशामा कार्यरत रहेर अवकाश ग्रहण गरेका कालेबुङ जिल्लाका विभिन्न विद्यालयका १४ प्रधान अध्यापक-प्रधान अध्यापिका अनि शिक्षक प्रभारीहरू सामेल छन्। समथार उच्चतर माध्यमिक विद्यालयको प्रेक्षागृहमा २१ दिसम्बरमा सम्पन्न भएको विदाई तथा सम्मान कार्यक्रमको अध्यक्षता सङ्गठनका अध्यक्ष तथा अलगढा उच्चतर माध्यमिक विद्यालयका प्रधानाध्यापक विजय प्रधानले गरेका थिएl मुख्य अतिथिको रूपमा कालेबुङका विधायक रुदेन सादा लेप्चा अनि अन्य अतिथिहरूमा सङ्गठनका केन्द्रीय महासचिव सन्तोष खडका र जिल्ला सचिव लोकेश थापा थिएl कार्यक्रमको सञ्चालन बाग्राकोट उच्चतर माध्यमिक विद्यालयका प्रधानाध्यापक सागर शर्मा अनि बरबोट उच्चतर माध्यमिक विद्यालयका शिक्षक प्रभारी शङ्कर लामगादेले गरेका थिए।
सम्मान प्राप्त गर्ने सबै शिक्षक- शिक्षिकाहरू सम्बन्धित विद्यालयहरूका प्रधानाध्यापक-प्रधानाध्यापिकाहरू हुन्। जसमा जलढका उच्चतर माध्यमिक विद्यालयका दिनानाथ शर्मा, अम्बियोक उच्चतर माध्यमिक विद्यालयका ललित राई , मनसोङ उच्चतर माध्यमिक विद्यालयका तरुणचन्द्र वाइबा, जुबली उच्चतर माध्यमिक विद्यालयका मणिकुमार भुजेल, इन्डो-टिबेटन उच्चतर माध्यमिक विद्यालयका धीरेनचन्द्र विग , समथार उच्चतर माध्यमिक विद्यालय मका भीमप्रसाद राई, बरबोट उच्चतर माध्यमिक विद्यालयका भीमप्रसाद शर्मा , रम्बी उच्च विद्यालयका योगराज शर्मा र दिपक गजमेर , गणेश उच्च विद्यालयका आरपी तामाङ, लाभा उच्चतर माध्यमिक विद्यालयका सीबी गुरुङ, टिस्टाब्रिज उच्चतर माध्यमिक विद्यालयका टेन्डुप छिरिङ लेप्चा, प्रणामी बालिका विद्या मन्दिरकी मुन्ना राई अनि लोले सम्पु उच्चतर माध्यमिक विद्यालयका रेकमणि प्रधान रहेका छन्।
विदायी शिक्षक-शिक्षिकाहरूलाई अतिथिहरूको बाहुलीबाट खदा , शीरशोभा, खास्टो ओडाएर अनि प्रशस्तिपत्र प्रदान गरि सम्मान गरियो। उक्त कार्यक्रमको निम्ति आयोजक समिति गठन गरिएको थियो। जसमा मूल संयोजक शङ्कर उच्चतर माध्यमिक विद्यालयका प्रधानाध्यापक भक्तबहादुर तामाङ, बरबोट उच्चतर माध्यमिक विद्यालयका शिक्षक प्रभारी शङ्कर लामगादे , संयोजक बाख्राकोट उच्चतर माध्यमिक विद्यालयका प्रधानाध्यापक सागर शर्मा , सुरुक मन्दोदरी उच्च विद्यालयका प्रधानाध्यापक देवप्रकाश भुजेल, समथार उच्चतर माध्यमिक विद्यालयकी शिक्षक प्रभारी रेजिना गुरुङको नेतृत्वमा समिति गठन गरिएको प्रधानाध्यापक सागर शर्माले जनाएका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि रुदेन सादा लेप्चाले भने, ‘परिस्थितिअनुसार खारिएका तपाईहरू जस्तो मान्छेको खाँचो समाजलाई छ। तपाईहरू शिक्षामा पाको र अनुभवी मान्छेहरू भएकोले समाजलाई मार्गदर्शन, साथ-सहयोगको आवश्यकता छ। मैलै अवकाश ग्रहण गरेँ। अब मेरो दायित्व पनि सकियो। म अब रिजेक्ट भएँ भन्ने खालको भावना राख्नु हुँदैन। तपाईहरू खारिएको अनुभवी मान्छेहरू भएकोले अब झन क्षेत्र, समाज र जातिको निम्ति तपाईहरूको दुर्दर्शिता, सहयोग र सर-सल्लाहको आवश्यकता छ।‘










