बड़ोदरा: स्मृति मन्धना अहिले असाधारण फर्ममा रहेकी छन्। वेष्ट इण्डिजविरुद्ध हालै समाप्त टी२० सीरीजमा भारतीय महिला क्रिकेट टीमकी ओपनिंग ब्याटरको प्रदर्शन प्रभावशाली रह्यो। त्यसपछि मन्धनाले आफ्नो फर्मलाई वेष्ट इण्डिजविरुद्ध महिला वनडे सीरीजमा पनि कायम राखिन् अनि मंगलवार खेलिएको दोस्रो वनडे इण्टरनेशनल म्याचमा अर्द्धशतक बनाइन्। म्याचमा उनले ४७ बल खेलेर ५३ रन बनाइन्। इण्टरनेशनल क्रिकेटमा यो उनको लगातार छैटौं ४० रनभन्दा अधिकको स्कोर हो। बड़ोदराको कोताम्बी स्टेडियममा मन्धनाले फेरि एकपल्ट टीम इण्डियालाई असल शुरुवात दिलाइन्। मन्धना आउट भएपछि हरलीन देओलले पनि शतक लगाएर टीमको स्कोर ३५८ रनसम्म पुऱ्याइन्। मन्धनाले ११ दिसम्बरमा अष्ट्रेलियाविरुद्ध पर्थमा खेलिएको तेस्रो वनडे म्याचमा १०५ रन बनाएकी थिइन्। त्यसपछि भारत फर्किएर उनले वेष्ट इण्डिजकी बलरहरूलाई भरपूर शास्ती दिइन्। उनले डी वाई पाटिल स्टेडियममा वेष्ट इण्डिजविरुद्ध खेलिएको तीनवटा टी२० म्याचमा क्रमशः ५४, ६२ र ७७ रन बनाइन्। त्यसको लगत्तै पछि बड़ोदरामा खेलिएको पहिलो वनडे म्याचमा पनि उनले क्यारेबियन टीमविरुद्ध ९१ रन बनाइन्। यस फर्मलाई कायम राख्दै मन्धनाले मंगलवार पनि ५३ रन बनाइन्। यसको साथमा मन्धना साल २०२४-मा वनडे इण्टरनेशनलमा सर्वाधिक रन बनाउने महिला क्रिकेटर पनि बनिन्। उनले यस साल १२ वटा म्याचमा ६१.९१-को औसतले ७४३ रन बनाइसकेकी छन्। यसमा ४ वटा शतक र ३ वटा अर्द्धशतक सामेल छ। उनले दक्षिण अफ्रिकाकी लौरा वोल्वार्ड्टकी रेकर्ड तोड़िन्, जसले यस साल ६९७ रन बनाएकी छन्।
म्याचको कुरा गर्दा मंगलवार भारतले मंगलवार टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रन बनायो। यो भारतीय महिला क्रिकेट टीमको वनडे इण्टरनेशनलमा संयुक्त रूपले सर्वाधिक स्कोर हो। यसअघि भारतीय महिला टीमले १५ मई २०१७-मा आयरल्याण्डविरुद्ध २ विकेटमा ३५८ रन बनाएको थियो। मंगलवार भारतको तर्फबाट हरलीन देओलले सर्वाधिक ११५ रन बनाइन्। यो उनको पहिलो वनडे शतक हो। उनले १०३ बल खेलेर १६ वटा चौका लगाइन्। यसबाहेक प्रतीका रावलले ७६, मन्धनाले ५३ र जेमिमा रोड्रिग्सले ५२ रनको योगदान दिइन्। जवाफमा वेष्ट इण्डिजको टीम ४६.२ ओभरमा २४३ रन बनाएर अलआउट हुँदा भारत ११५ रनले विजयी भयो। वेष्ट इण्डिजबाट ओपनर हेली म्याथ्यूजले सर्वाधिक १०६ रन बनाइन्। उनले १०९ बल खेलेर १३ वटा चौका लगाइन्।









