पाकिम: बागवानी एवं कृषि विभागले सिक्किमका ब्याङ्कहरूको सहकार्यमा राज्य स्थापना दिवसको ५०औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘सुनौलो, समृद्ध र समर्थ सिक्किम: विकास’ शीर्षकमा आज माझीटारमा क्रेडिट आउटरिच कार्यक्रम आयोजना गऱ्यो।
कार्यक्रममा कृषि, बागवानी, पशुपालन तथा पशुचिकित्सा सेवा विभाग मन्त्री पूरण गुरुङले जैविक खेतीको महत्वलाई प्रकाश पार्दै कृषि क्षेत्रमा आफ्ना व्यक्तिगत अनुभवहरू साझा गरे। उनले क्रेडिट आउटरिच पहल अन्तर्गत ६० कृषकलाई चेक वितरण गरेको घोषणा गरे। उनले कृषकहरूलाई प्रगतिशील अभ्यासहरू अपनाउन र कृषि तथा बागवानी विभागबाट उपलब्ध गराइएका योजनाहरूको अधिकतम उपयोग गर्न प्रोत्साहित गरे।
मन्त्रीले किसान मोर्चाका अध्यक्षको नियन्त्रित बजारको आह्वानप्रति पूर्ण समर्थन व्यक्त गर्दै कृषक समुदायप्रति विभागको निरन्तर प्रतिबद्धता दोहोऱ्याए। उनले भविष्यको विकासको लागि महत्त्वपूर्ण स्रोतको रूपमा शिक्षालाई प्राथमिकतामा राखेर लगनशील भएर काम गर्न अधिकारीहरूलाई निर्देशन दिए।
यसैगरी, बागवानी विभागका प्रधान निर्देशक सुमन शर्माले सबै क्षेत्रका कर्मचारीहरूलाई कृषि कार्यक्रम र योजनाको सफलता सुनिश्चित गर्न लगनशील र प्रभावकारी रूपमा काम गर्न आग्रह गरे। कृषि तथा बागवानी विभागका अभियान निर्देशक बीएल दाहालले किसानहरूलाई उत्पादकतामा ध्यान दिन र जैविक खेतीलाई अँगाल्न प्रोत्साहित गरे। उनले सिक्किममा दिगो कृषि अभ्यासलाई बढावा दिन स्थानीय रूपमा उत्पादित वस्तुहरूको खपत र जैविक खेतीको भूमिकामा जोड दिए।