मंगन: सामाजिक कल्याण, महिला तथा बाल विकास मन्त्री एवं क्षेत्र विधायक साम्डुप लेप्चाले आज पीएमजीएसवाई अन्तर्गत मंगन पेन्टोक सडकको मल्लिङसम्मको राफोङ चुमा ४० मिटर लामो स्टिल पुलको उद्घाटन गरे।
सामाजिक-आर्थिक विकासलाई प्रवर्द्धन गर्न ग्रामीण सडक सञ्जाललाई अभिवृद्धि गर्ने ध्वजवाहक कार्यक्रम प्रधानमन्त्री ग्राम सडक योजना कार्यान्वयनको २५ वर्ष पूरा भएको अवसर पुल उद्घाटन गरिएको छ।
उद्घाटन कार्यक्रममा एडीएम मंगन पेमा वाङ्छेन नामकर्पा, एएसपी मणि कुमार तामाङ, बीडीओ कैलाश थापा, सीईओ शिक्षा डेभिड ग्याम्छो आदि उपस्थित थिए।
आफ्नो सम्बोधनमा क्षेत्र विधायक लेप्चाले परियोजना सफलतापूर्वक सम्पन्न भएकोमा सबै सरोकारवालालाई बधाई दिए। उनले विकासलाई बढावा दिन, जीविकोपार्जन सुधार गर्न र अत्यावश्यक सेवाहरूमा पहुँच बढाउन सम्पर्कको महत्त्वलाई जोड दिए।
जिल्लाको चुनौतिपूर्ण भूभागको उल्लेख गर्दै उनले विकासका पहलहरूलाई अगाडि बढाउन जनताको सहयोग र सहकार्यको महत्वपूर्ण भूमिकामाथि प्रकाश पारे। उनले यस क्षेत्रमा पूर्वाधार सुदृढ गर्न थप परियोजनाहरू आउने आशा व्यक्त गर्दै सामूहिक प्रयास जारी राख्न आग्रह गरे।
वर्ष २००० मा सुरु गरिएको पीएमजीएसवाई योजना, ग्रामीण पूर्वाधार सुधार गर्न तथा बजार, स्वास्थ्य सेवा र शिक्षामा राम्रो पहुँच सुनिश्चित गर्नमा निर्णायक रहेको छ। यसले शहरी-ग्रामीण विभाजनलाई कम गर्न र राष्ट्रभरि समावेशी वृद्धिलाई बढावा दिन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।