खरसाङ: तीनधारेमा भईरहेको तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्ट अन्तर्गत आज भएको खेलमा दार्जिलिङ युनाइटेडले निखिल नाइन महानदीलाई ५-३ को अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ। युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको आयोजनामा तीनधारेको मिठाईडाँडा खेल मैदानमा भईरहेको तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको दोस्रो चरणको खेल भईरहेको छ। यस खेलमा ह्याट्रिक गर्ने दार्जिलिङ युनाइटेडको खेलाडी रनिक राई म्यान अफ् द म्याच चयन भएका छन्। आजको खेलमा मुख्य अतिथिको रुपमा तीनधारेको राजबारीस्थित जनसेवा संघको सचिव महेन्द्र तामाङ उपस्थित रहेका थिए। अब आगामी २६ दिसम्बरको दिन हुने खेल मङ्पु युथ क्लब र नर्थ बेंगल वारियर्समाझ हुने भएको जानकारी युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको सह कोषाध्यक्ष सुभम प्रधानले दिएका छन्। यस तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको विजेतालाई ट्रफीससहित नगदराशि दुई लाख रुपियाँ र उप विजेतालाई ट्रफीससहित एक लाख रुपियाँ प्रदान गरिने भएको छ। यस फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी १२ जनवरीमा सम्पन्न हुने भएको छ।