खरसाङ: खरसाङ महकुमा अन्तर्गत पंखाबारी लंगभ्यू अम्बटे समष्टिमा रहेका उच्चत्तर माध्यमिक विद्यालय, प्राथमिक पाठशाला, एसएसके, एमएसकेका शिक्षक शिक्षिकाहरूलाई लिएर एक जरूरी सभा गाडीधुरा सार्वजनिक भवनमा समष्टि कार्यकारी सभासद कल्पना प्रधानको सभापतित्वमा सम्पन्न भयो। सभामा समष्टि कार्यकारी सभासद कल्पना प्रधान साथै मनोनित सभासद प्रणाम रसाईलीको विशेष उपस्थिति रहेको थियो। समष्टि सचिव ललित प्रधानले सञ्चालन गरेको सभामा भागोप्रमो केन्द्रिय समिति सदस्य सन्तोष लामा, समष्टि सभापति मणिराज डुम्जन, पंखाबारी उच्चतर माध्यमिक विद्यालय प्रधान अध्यापक देवेन गजमेर, हिल तराई प्राथमिक शिक्षक संगठन केन्द्रीय समिति उप सभापति सन्तोष थापा आदिले सम्बोधन गरेका थिए। सभासद कल्पना प्रधानले आफ्नो सम्बोधनमा शिक्षक शिक्षिकाहरू समाज निर्माण गर्ने महान पेशामा रहेको हुनाले समाज राम्रो बनाउने जिम्मेवारी शिक्षक शिक्षिकामाथि रहेको जनाए। शिक्षक पेशामा रहेर शिक्षक शिक्षिकाहरू अनुशासनमा रहेर पाठशालाहरूमा पनि सही समय अनुसार कार्य गर्न पर्ने सुझाव राखिन्। जीटीए प्रमुख कार्यपाल अनित थापाको शिक्षाप्रति अति नै राम्रो सोच रहेको साथै विद्यायहरूमा कार्यरत स्वयंसेवक शिक्षकहरूको दीर्घकालीन मागप्रति पनि उनी चिन्तित रहेको जनाइन्। सभासद प्रणाम रसाइलीले समष्टि अन्तर्गत गठन हुन गइरहेको शिक्षक संगठन संगठित भइ कार्य गरिदिने अनुरोध गरे। उनले पार्टीका शीर्ष नेतृत्वले संगठनलाई विस्तार कार्य गरिरहेको छ भने शिक्षकहरूले शिक्षाको खेतीलाई अघि लिएर भविष्यका कर्णधारहरूको निर्माण गरिरहेको जनाए। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा आज जुन स्थानमा छ त्यसमा शिक्षक संगठनको धेरै सहयोग रहेको पनि रसाइलीले जनाए। भागोप्रमो केन्द्रीय समिति सदस्य सन्तोष लामाले पार्टीको निर्देश अनुसार आज समष्टि अन्तर्गत रहेका विद्यालयहरूलाई एउटा बलियो कमिटी बनाएर संगठित भइ कार्य गर्न पर्ने मत राखे। पहाडले अनित थापा जस्तो सरल नेता पाएको र उनको शासनकाल अझ दीर्घ राख्न सबैले मिलेर संगठनको हितमा कार्य गर्न अनुरोध गरे। पंखाबारी उच्चतर माध्यमिक विद्यालयका प्रधान अध्यपक देवेन्द्र गजमेरले शिक्षकहरू शिक्षाको खेती गरेर समाज र देश निर्माण गरिरहेको जनाए साथै अहिले जीटीए प्रमुख कार्यपाल अनित थापाको नयाँ सोच र नयाँ विचारले शिक्षाको क्षेत्रमा धेरै महत्वपूर्ण कार्यहरू गरेको जनाए। समष्टि सभापति मणिराज डुम्जनले शिक्षकहरू आफै ज्ञानको भण्डार रहेको र जीटीए प्रमुख कार्यपाल अनित थापाको कुशल नेतृत्वलाई समष्टिका शिक्षक संगठनले रूचाएको जनाए।

सभामा पंखाबारी लंगभ्यू अम्बटे समष्टि शिक्षक संगठन सभापति सुबोध लामा, महासचिव बिनोद परियार, उपसभापति दिपेन तामाङ, प्रकाश प्रधान, सहसचिव अर्चना राई, बसन लामा अनि कोषाध्यक्ष धनकुमार राई, सहकोषाध्यक्ष पूर्ण बहादुर राई, प्रचार प्रसार सचिव संजोक खातीलाई सर्वसम्मतिले चयन गरियो। आज सम्पन्न सभामा खरसाङ महुकमा समिति प्रवक्ता अनुप रामुदामु, समिति सदस्य साथै समष्टि सांगठनिक सचिव मौसम लामा, प्रचार प्रसार सचिव जिनोद परियार, समिति सदस्य चन्द्र प्रसाद शर्मा, अम्बटे खण्ड समिति अध्यक्ष अमृत छेत्री, हिल तराई प्राथमिक शिक्षक संगठन केन्द्रीय समिति सदस्य बिनोद परियार, पंखाबारी युनिट सभापति साजन लकान्द्री पंखाबारी समष्टि अन्तर्गत रहेका शिक्षक शिक्षिकाहरूको बाक्लो उपस्थिति रहेको थियो।