काठमाण्डू :मिलन आचार्यले आइतबार बिहान बुबा र भाइको हत्या गरेको स्वीकार गरेका छन् । मंगलबार प्रहरीको सम्पर्कमा आएका मिलनले बुबा कुलप्रसाद र भाई प्रविणमाथि सुतेका बेला सिलौटा र डम्बेल प्रहार गरेर हत्या गरेको स्वीकार गरेका हुन्।
हत्यापछि आफूलेसमेत झुन्डिएर आत्महत्या गर्ने प्रयास गरेको तर सफल नभएको बयान प्रहरीलाई दिएका छन्। अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार मिलनले बुबा कुलप्रसाद र भाई प्रविणको हत्या योजनाअनुसार गरेको बयान दिएका छन्।
मिलनले प्रहरी अधिकारीसँग बयानमा भनेका छन्,‘‘बुबाले धेरै नै माया गर्नुहुन्थ्यो। मलाई सरकारी जागिर खाएको देख्ने उहाँको सपना थियो। मैले प्रयाससमेत गरेँ। तर, ६–७ पटक परीक्षा दिँदासमेत पास भइनँ। त्यही तनावमा बुबाले समेत आत्महत्या प्रयास गर्नुभयो। त्यही दिनदेखि मलाई पनि बुबालाई खुसी पार्न सकिएन भन्ने लाग्यो । सबै मारेर मुक्ति हुन्छ भनेर यो अवस्थामा पुगेको हुँ।’’
भाइ प्रविण पनि सधैँ दिउँसो १२ बजेसम्म सुत्ने र केही गर्न नसक्ने भनेर हत्या गरेको बताएका छन्। बुबा र भाइको हत्याको योजना केही दिनअघि देखिनै बनाएर गरेको पनि प्रहरीलाई बताएका छन्।
हत्या आइतबार बिहान करिब चार बजेतिर गरेर कोठा बन्द गरेको बयान दिएका छन् । मिलनले परिवारका अन्य सदस्यलाई पनि मार्ने योजना बनाएको प्रहरीसमक्ष बयान दिएका छन् ।
कहाँ बसेका थिए मिलन हत्या पछिका दुई दिन ?
सोमबार बिहान शव फेला परेपछि भने प्रहरीले मिलनलाई नै शंका गरेर अनुसन्धान तीव्र पारेको थियो। तर, हत्या लगत्तै फरार मिलनलाई प्रहरीले पक्राउ गर्न सकेन। मंगलबार बिहान भने उनी आफैँ प्रहरीको सम्पर्कमा आएका थिए।
प्रहरीले उनलाई प्रहरी वृत्त महाराजगञ्जमा राखेर अनुसन्धान थालेको छ। प्रहरीका अनुसार हत्यालगत्तै कोठाबाट आत्महत्या गर्न मिलन भक्तपुरको बिरुवा पुगेको बयान दिएका छन्। तर, आत्महत्या गर्न नसकेपछि उनी त्यहाँबाट फर्किएर भक्तपुरस्थित दरबार स्क्वायर पुगेका थिए। आइतबार दिनभर दरबार स्क्वायरमा नै बसेको प्रहरीको बयानमा बताएका छन्।
त्यहाँबाट भने उनी सार्वजनिक यातायात चढेर चाबहिलस्थित एक होटलमा पुगेका थिए। त्यही होटलमा उनी दुई दिन बसेको खुलेको छ। प्रहरी अधिकारीका अनुसार लोकसेवा पास नभएपछि उनी विक्षिप्त भएको देखिएको छ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ का कुलप्रसाद आचार्य हुलाकका कर्मचारी हुन्। उनी भक्तपुरमा बस्दै आएका छोराहरुलाई भेट्न केही दिन अघिमात्रै आएका थिए।