गान्तोक: भारतीय सेनाको १७औं माउण्टेन डिभिजनका नवनियुक्त जनरल अफिसर कमाण्डिङ (जीओसी) मेजर जनरल एमएस राठौर र ब्ल्याक क्याट डिभिजनका निवर्तमान जीओसी मेजर जनरल अमित कबतियालले आज राजभवनमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग शिष्टाचार भेट गरे।
बैठकमा २०२३ मा टिस्टा नदीमा आएको बाढीमा शहीद भएका जवानहरूको स्मृतिमा निर्माणाधीन प्रेरणा स्थलको कार्य प्रगतिमाथि चर्चा गरियो। यस क्रममा राज्यपालले नथुला घाटीमा १९६७ को भारत चीन युद्धमा राजस्थानका मेजर जनरल सगत सिंहको अतुल्य योगदानको उल्लेख गरे अनि उक्त स्थानको विकाससित सम्बन्धित विषयमाथि चर्चा गरे।
राज्यपालले अधिकारीहरूसॅंग सिक्किमले आफ्नो ५०औं स्थापना दिवसको अवसरमा आयोजित गर्ने कार्यक्रमहरूको बारेमा चर्चा गरे। सिक्किमले आफ्नो ५०औं स्थापना दिवसमा प्रवेश गरेको छ र यस महत्वपूर्ण अवसरलाई भव्यरूपमा मनाउने योजना बनाएको उनले अवगत गराए।
राज्यपालले नवनियुक्त जीओसी मेजर जनरल एमएस राठौरलाई उनको सफल र फलदायी कार्यकालको निम्ति शुभकामना दिए। साथै निवर्तमान जीओसी मेजर जनरल अमित कबतियालप्रति आभार व्यक्त गर्दै आगामी कार्यकालको निम्ति शुभकामना दिए।