गान्तोक: सिक्किम फूटबल एसोसिएशनसितको सहकार्यमा भारतीय सेनाको त्रिशक्ति कर्प्सद्वारा आयोजित सिक्किम राइजिङ स्टार २.० अण्डर-१७ फूटबल टुर्नामेन्टको आज दुवै किशोर अनि किशोरी वर्गमा तेस्रो स्थानको निम्ति म्याच सम्पन्न भयो। दुवै म्याच गान्तोकको पाल्जोर स्टेडियममा खेलाइएको थियो।
किशोर वर्गको तेस्रो स्थानको म्याच गान्तोक हिमालय स्पोर्टिङ क्लब र सिनाल्चु एफसी बीच खेलिएको थियो जसमा गान्तोक हिमालयन स्पोर्टिङ क्लब शुन्यको विरुद्ध एक गोलले विजयी बन्यो। म्याचको एकमात्र गोल अतिरिक्त समयको खेलमा शेरुग शेर्पाले गरे।
अर्कोतिर किशोरी वर्गमा तेस्रो स्थानको निम्ति भिड़न्त पाक्योङ यूनाइटेड र यूनाइटेड बोजोघारी एससी बीच भएको थियो। निक्कै प्रतिस्पर्धी र चाखलाग्दो भएको म्याचमा पाक्योङ यूनाइटेड एक-को विरुद्ध दुई गोलले विजयी बन्यो। पाक्योङको पक्षमा ३३औं मिनटमा मनिशा शर्माले पहिलो गोल गरिन्। लगतै बोजोघारीको पक्षमा मिकि फुङ लिम्बूले गोल गरेर स्कोर बराबर बनाइन्। त्यसपछि खेलमा तीव्रता आएको थियो। दुवै दलले निरन्तर प्रतिपक्षीको गोलपोस्टमा आक्रमण गरिरह्यो। उत्तरार्धको ५९ मिनटमा निर्णायक गोल गरेर अविष्ठ छेत्रीले पाक्योङ यूनाइटेडलाई जित दिलाइन्।
उल्लेखनीय छ, टुर्नामेन्टको फाइनल भोली किशोरी वर्गमा सिङ्गलिङ एसए र मानेबोङ देन्ताम स्पोर्ट्स सोसाइटी र किशोर वर्गमा सञ्जु फूटबल एकाटेमी र नर्दनर्स एफसी बीच हुनेछ।