ग्राण्ड फिनाले ३ जनवरीमा हुने
खरसाङ: नमस्ते आईडल सिजन दुईको टप पाँच चयन गरिएको छ। नमस्ते आइडल सिजन दुईको ट्रिब्युट राउण्डमा चयन भएका टप १० जनाबाट टप पाँचजना ग्राण्ड फिनालेको लागि चयन गरिएको छ। नमस्ते आइडल सिजन दुईको अडिसन राउण्ड गत शनिवार सम्पन्न भएको थियो। यस अन्तर्गत लाइभ राउण्डमा जम्मा १३ जना प्रतियोगीहरुले भाग लिएका थिए। यसपाली निर्णायक मण्डलीमा संगीतकार महेश्वर लामा र उपेन्द्र प्रधान अनि संगीतकार तथा गीतकार प्रमिता गुरुङ उपस्थित रहेका थिए। तीनैजनाको निर्णयपछि लाइभ राउण्डबाट १३ जनालाई नै चयन गरेर ट्र्याक राउण्डमा लगिएको थियो भने ट्रयाक राउण्डबाट १३ जनाबाट १० जनालाई ट्रिब्युट राउण्डको लागि चयन गरिएको छ। उक्त १० जनाले ट्रिब्युट राउण्डमा प्रस्तुति दिएपछि पाँचजना ग्राण्ड फिनालेको लागि चयन भएका छन्। ग्राण्ड फिनालेकोलागि चयन भएका टप पाँचजना प्रतियोगीहरुमा राहुल थापा – मझुवा, खुशी दुतराज – फुगढी, मिरिक, शाहरुख राई – सिटोङ, ईश्वर सुन्दास डाउहिल खरसाङ र अलिसा सुन्दास -रंगबुक आदि रहेका छन्। नमस्ते आइडल सिजन दुईको विजेतालाई ट्रफीससहित नगदराशि २५ हजार प्रदान गरिने भएको छ जसलाई अमेरिकाबाट अर्जुन राई र टिमले सहयोग गर्ने नमस्ते खरसाङको प्रबन्ध निर्देशक निर्मल गुरुङले जानकारी गराएका छन्। उनले बताए अनुसार उप विजेतालाई ट्रफीससहित नगदराशि १५ हजार नगदराशि र तेस्रो हुनेलाई पनि ट्रफीसहित नगदराशि १० हजार प्रदान गरिने भएको छ जसलाई हङकङबाट प्रायोजित गरिने भएको छ। उल्लेखनीय छ गत वर्ष नमस्ते आईडल सिजन एकको विजेता अमन गुरुङ बनेका थिए।

नमस्ते आइडल सिजन दुईको ग्राण्ड फिनाले आगामी ३ जनवरीमा सम्पन्न हुने भएको नमस्ते खरसाङको प्रबन्ध निर्देशक निर्मल गुरुङले जानकारी गराएका छन्। उनले बताए अनुसार नमस्ते आइडल सिजन दुईको ग्राण्ड फिनालेमा सुरक्षा सेञ्चुरी, सचिन विश्वकर्म, मोहित भुजेल, आयुष लामा र नमस्ते आइडल सिजन एकको विजेता अमन गुरुङ आदिले पनि प्रस्तुति दिने भएको छ।