सिलगढी: ढुङ्गा हानेको विरोधमा एक परिवारका सदस्यहरूले छिमेकमा अर्को परिवारलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोप लगाइएको छ। झडपको यस घटनामा एकै परिवारका बाबु, आमा र छोरा घाइते भएका छन्। यस घटनामा एनजेपी पुलिस चौकीमा ६ जनाको नाममा उजुरी परेको छ। घटना आइतबार राति अम्बिकानगर नजिक माइकल मधुसूदन कोलोनीमा भएको हो। सो क्षेत्रका दिनेश बर्मन राति टेरेसमा गएका बेला छिमेकका दुई युवाले ढुङ्गा हानेको आरोप छ। पछि उनले यस विषयमा विरोध गर्दा परिवारका सदस्यले उनलाई धारिलो हतियार प्रहार गरेको आरोप छ। दिनेश बर्मन, उनकी श्रीमती कृपा बर्मन र छोरा विनय बर्मनलाई निर्मम कुटपिट गरिएको बताइएको छ। उनीहरुले घरमा तोडफोड समेत गरिएको पनि बताइएको छ। ज्यान जोगाउन पीडित परिवारले घरको ढोका थुनेर पुलिस बोलाए। पुलिसले गएर उद्धार गरेर अस्पताल पुर्यायो। सोमबार बिहान घटनामा संलग्न ६ जनाको नाममा एनजेपी पुलिस चौकीमा लिखित उजुरी परेको छl घाइते कृपा बर्मन र उनका श्रीमान् दिनेश बर्मनले घरको चारैतिर पर्खाललाई लिएर छिमेकी ज्ञानदा बर्मनको परिवारसँग लामो समयदेखि विवाद चलिरहेको बताए। आइतबार राति ढुङ्गामुढाको विरोध गर्ने बहानामा उनीहरूले उनीमाथि आक्रमण गरी कुटपिट गरेको बताइएको छ। छिमेकी ज्ञानदा बर्मन र उनको परिवारले कहिलेकाहीँ ज्यान मार्ने धम्की दिने गरेको उनले बताए। पुलिसले घटनाको अनुसन्धान शुरु गरेको छ। तर अहिलेसम्म कोही पक्राउ परेका छैनन्।