सिलगढ़ी: मधुर मिलन संघ, मिलन मोड़को तत्त्वावधानमा आयोजित ११औं मिलन मोड़ गोल्ड कप फूटबल टुर्नामेण्टमा नर्थ बेंगल आर्म्ड पुलिसले रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। स्थानीय खेल मैदानमा सोमवार भएको म्याचमा नर्थ बेंगल आर्म्ड पुलिसले युनाइटेड फूटबल क्लब दार्जीलिङविरुद्ध पेनल्टी शूटआउटमा ४-२-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। विजेता टीमका दिवस राईले प्लेयर अव् द म्याचको पुरस्कार जिते। यस प्रतिष्ठित टुर्नामेण्टको ११औं संस्करणमा जम्मा १६ वटा नामी-दामी टीमहरूले हिस्सा लिएको छ। यसमा उत्तर बंगालका शीर्ष टीमहरूका साथमा कलकत्ता, सिक्किम र नेपालको अग्रणी टीमहरू पनि सामेल छन्। टुर्नामेण्टको फाइनल १२ जनवरी २०२५-मा खेलिनेछ। यसरी दुईवटा सेमिफाइनल ८ र ९ जनवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई रुद्रलाल अधिकारी र कृष्ण कुमारी भण्डारी स्मृति विनर्स ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई शोभन सिंह खेरवार र तुलसी प्रसाद शर्मा स्मृति रनरअप् ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। मंगलवार खेलिने म्याचमा सिक्किम पुलिस र युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-बीच भिड़न्त हुनेछ।