गेजिङ: गेजिङ जिल्लाको मानेबुङ्ग देन्ताम क्षेत्रअन्तर्गत हि-याङ्गथाङ वार्डमा राष्ट्रिय किसान दिवसको अवसरमा दुई दिने कृषि मेला आयोजना गरिएको छ। वि-ग्रो एफआईजी-को तत्वावधानमा आयोजित यस मेलाको उद्देश्य ग्रामीण अर्थतन्त्रलाई सशक्त बनाउनु रहेको छ।
मेलामा विभिन्न किसान र महिला स्वंय-सहायता समूह (एसएचजी) ले आफ्ना कृषि उत्पादन प्रदर्शनीमा राखेका थिए। यसका साथै कृषि विभागका कर्मचारीहरूले साना कृषि उपकरण, उत्पादन सामग्री, घरेलु जनावरका औषधि र उपयोगी जानकारी सहित सहभागिता जनाएका थिए।
कार्यक्रमका प्रमुख अतिथि क्षेत्रय विधायक सुदेश कुमार लिम्बू रहेका थिए भने जिल्ला पञ्चायत तारमित लेप्चा, देन्ताम बेगा प्रादेशिक क्षेत्रका जिल्ला पञ्चायत दिनेश गुरुङ्ग साथै विभिन्न ग्राम पञ्चायतका प्रतिनिधिहरूको पनि विशेष उपस्थिति रहेको थियो। यसरी नै मेलामा स्थानीय ब्याङ्कका कर्मचारी, गैर-सरकारी संस्थाका सदस्य, प्रगतिशील किसान र स्थानीय वासिन्दाहरूको उल्लेखनीय उपस्थिति देखियो।
कृषि मेलाले ग्रामीण अर्थतन्त्र र स्थानीय किसानहरूको प्रोत्साहनका लागि महत्वपूर्ण योगदान दिने विश्वास कार्यक्रम आयोजकहरूले व्यक्त गरेका छन्। विशेष गरि राज्यका मुख्यमन्त्रीको कुशल सोचमा ग्रामिण जीवनलाई फाइदा पुऱ्याउने कार्ययोजनाहरु तयार गरिएको छ।