इजरायल-हमास युद्ध: सम्झौतामा प्रगति हुँदै

Iran-Isreal-attack-representative-photo-copy-2

इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहा गर्ने सम्झौतामा ९० प्रतिशत प्रगति भएको प्यालेस्टाइनले जनाएको छ। वार्तामा संलग्न एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले बीबीसीलाई बताएअनुसार वार्तामा ९० प्रतिशत प्रगति भएको छ तर, केही मुख्य मुद्दाहरूमा समाधान बाँकी रहेको छ। इजिप्टको सीमामा रहेको दक्षिणी गाजाको रणनीतिक रूपमा महत्त्वपूर्ण भूभाग फिलाडेल्फिया कोरिडोरमा इजरायली सेनाको निरन्तर उपस्थिति हटाउने विषयमा सहमति हुन नसकिरहेको प्यालेस्टाइनले जनाएको छ। कतारको दोहामा भइरहेको चर्चाको गाजासँगको इजरायलको सीमाको बफर जोनको लम्बाई बढाउने विषय पनि समावेश छ। यो क्षेत्रमा इजरायली सेना खटिनेछ। यी मुद्दाहरूको समाधान भएपछि तीन चरणको युद्धविरामबारे केही दिनभित्रै सहमति हुनसक्ने वार्ताकारले बताएका छन्। सम्झौता भएपछि इजरायलले हरेक दिन २० जना प्यालेस्टाइनी कैदी रिहा गरेवापत हमासले एक जना इजरायली महिला सैनिकको रिहाई गर्नेछ। इजरायलमा २५ वर्षभन्दा धेरै समय जेल सजाय भोगिरहेका झन्डै चार सय जना बन्दीलाई छुटाउनु पर्नेछ। गाजामा ९६ जना बन्धकहरूमध्ये ६२ जना अझै जीवित रहेको इजरायलले अनुमान गरेको छ। यस्तै इजिप्ट र कतारको निगरानीमा उत्तरी गाजामा नागरिक फर्कन पाउने छन् र गाजामा हरेक दिन पाँच सय ट्रकका दरले सहायता सामग्री लैजान दिइनेछ। तीन चरणको योजनाको अन्तिम चरणमा १४ महिनाको युद्धको अन्त्य घोषणा हुनेछ। अमेरिकाले पनि गाजा युद्धविरामको लागि नयाँ प्रयास शुरु गर्ने बताएको छ। जसले गर्दा युद्ध रोकिने आसा पलाएको अधिकारीहरुले बताएका छन्। गएको वर्षको अक्टोबरमा हमासले १२ सय जनाको ज्यान जानेगरी हमासले इजरायलमा आक्रमण गरेको थियो, भने दुई सय ५१ जनाको अपहरण गरेको थियो। त्यसको जवाफमा इजरायलले गाजा ध्वस्त पारेको छ भने ४५ हजार जनाको ज्यान गएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement