३१ अगस्तः सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको तेस्रो सीजनमा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी) क्वार्टर फाइनलमा पुग्यो। सिमुलबारी खेल मैदानमा बुधवार खेलिएको पूल ए-को म्याचमा यूकेएफसी-ले नर्थ बेंगल आर्म्ड पुलिसलाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयमा यूकेएफसी-बाट अनुभवी राज राउतले १६औं मिनटमा गोल गरे। यसरी नै आर्म्ड पुलिसबाट सनातन कर्मकारले ७६औं मिनटमा गोल गरे। विजेता टीमका वांगछेन तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। अब बिहीवार खेलिने दोस्रो प्री-क्वार्टर फाइनल म्याचमा एमएमएफसी निरपानी र मिक्स अप बोइज, खरसाङबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। फाइनल १३ सेप्टेम्बरमा हुनेछ।










