खरसाङ: स्थानीय चीजबीजहरु किनबेच गर्न साथै स्थानीयहरुलाई स्वनिर्भर बनाउने उद्देश्यको साथमा खरसाङमा
गत वर्ष १५ अक्टोबर २०२३ मा स्थापित खरसाङ गोर्खे हाटको प्रथम स्थापना दिवस पालन गर्नलाई कार्यक्रम आयोजना गरियो। समारोहको आरम्भमा विभिन्न संघ-संस्थाका मानिसहरूसहित विशिष्ट अतिथिहरूलाई स्वागत – जनाइयो। यस क्रममा दीप प्रज्वलन समारोहका प्रमुख अतिथि खरसाङ खण्डक पञ्चायत समिति अध्यक्ष अनु छेत्री, खरसाङ नगरपालिकाका उपाध्य सुवास प्रधान, खरसाङ गोर्खे हाटका कन्सेप्ट तयार गर्ने सन्त किशोर गुरूङ, गोर्खे हाटका अध्यक्ष बिजयसिंह सिन्चुरी आदिले सम्मिलित रूपमा गरेका थिए। समारोहमा खरसाङको गोर्खे हाटलाई आरम्भ गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सन्त किशोर गुरूङलाई आयोजक समितिको पक्षबाट सम्मान जनाइयो। कार्यक्रममा गोर्खे हाटका कलाकारहरूले स्वागत गीत पेश गरेका थिए। समारोहमा नेपाली सिने जगतमा दार्जीलिङ पहाड़ी क्षेत्रमा अहम भूमिका निर्वाह गर्ने खरसाङ – निवासी विवेक राईलाई आयोजक कमिटीको पक्षबाट सम्मानित गर्दै स्मृति चिन्ह प्रदान गरियो। समारोहको सञ्चालन विधान गुरूङ र स्मृति श्रेष्ठ प्रधानले गरेका थिए। समारोहमा विविध रंगारंग सांस्कृतिक प्रस्तुति अन्तर्गत कलाकारहरूले नृत्य अनि गीत प्रस्तुत गरेका थिए। खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा यस समारोहको आयोजना गरिएको थियो। स्वागत वक्तव्य गोर्खे हाटका सल्लाहकार प्रज्जवल प्रधानले राखे। उनले हाम्रो उद्देश्य भविष्यमा गोर्खे हाटलाई रेगुलेटेड मार्केटमा परिवर्तन गर्ने अनि जातीय संस्कृतिलाई बचाउने रहेको बताएका छन्। खरसाङ नगरपालिका उपाध्यक्ष सुवास प्रधानले गोर्खे हाटका सञ्चालकहरूलाई बधाई दिएका छन्। उनले भने, गोर्खे हाटका सञ्चालकहरू एउटा नयाँ भिजन लिएर खरसाङ नगरपालिकामा गत वर्ष आएका थिए।सर-सल्लाह गरेपछि उनीहरूलाई ठाउँको अभाव भएपछि खरसाङ शहरदेखि टाड़ा खरसाङ टुरिस्ट लजदेखि माथितिरको ठाउँ दिइयो जहाँ वर्तमानमा गोर्खे हाट लगाउने काम भइरहेको छ। तर खरसाङ नगरपालिकाले खरसाङ बजारबीच हाटलाई लगाउनको लागि एक ठाउँ हेरेको छ। सञ्चालकहरूसित सर सल्लाह गरेर यसमाथि विचार गरिनेछ। उनले अझ बताए, खरसाङको हाट बजारमा आगामी जनवरी, २०२५ मा मार्केट निर्माणको कार्य आरम्भ गरिनेछ। गत केही महिनापूर्व जीटीएका प्रमुख कार्यपाल अनित थापाले यहाँ मार्केट निर्माण गर्ने घोषणा गरेका थिए। स्मरण गराइन्छ, प्रत्येक हप्ता आइतबारको दिन खरसाङमा गोर्खे हाट लगाइन्छ। यस हाटमा विशेष गोर्खा जातिसित सम्बन्धित विविध खाद्य सामग्री, सजावटका सामग्री, कपड़ा, स्थानीय साग-सब्जी आदि बिक्री हुन्छ। यस हाटमा किनमेल गर्नका लागि खरसाङ अनि वरपरका क्षेत्रहरूबाट ठूलो संख्यामा मानिसहरू आउने गर्दछन्। यस हाटको विशेषता के हो भने यहाँ पसल राख्ने सबै व्यापारीहरूलाई गोर्खा जातीय वेशभूषामा सुसज्जित देखिन्छ।