काठमाण्डू: हङकङबाट काठमाण्डू आएको नेपाल वायुसेवा निगमको जहाजमा अचेत भएका यात्रुलाई अस्पताल पुरयाएपछि मृत घोषणा गरिएको छ।
जहाजमा अचेत भएका ताप्लेजुङका ५३ वर्षीय देउमान लिम्बूलाई त्रिभुवन विमानस्थलबाट सिनामंगलस्थित काठमाण्डू मेडिकल कलेज शिक्षण अस्पताल लगिएको थियो। अस्पताल पुर्याएका लिम्बूलाई चिकित्सकले मृत घोषणा गरेको निगमले जनाएको छ।
निगमका प्रवक्ता रमेश पौडेलले हङकङबाट काठमाण्डू आउने क्रममा उडिरहेको जहाजमै अचेत भएका लिम्बूलाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको बताए।
उनले भने, ‘विमानस्थलनमा लिम्बूका आफन्त लिन आएका रहेछन। हामीले उनीहरुलाई नै जिम्मा लगाएका थियौं। लिम्बूलाई अस्पतालले मृत घोषणा गरेको हो।’
निगमको आरए ४०१ उडानबाट लिम्बू नेपाल आएका थिए । उनी जहाजभित्र नै अचेत भेटिएको निगमले जनाएको छ।