”हार्दिक बधाई… नेपाल राष्ट्रिय बंगला समाजको आजीवन सदस्य एवं नेपालको इतिहासमा भारोत्तोलन खेलको संस्थापक मिठु सेन गुप्ता (पार्थ सारथी सेन गुप्ता)… भारोत्तोलनका महत्त्वपूर्ण मुद्दाहरूलाई सम्बोधन गर्न नेपालबाट सहभागी हुँदै…एसियाली भारोत्तोलन महासंघ एडब्ल्युएफ कार्यकारी बोर्ड बैठकमा दिसम्बर १८, २०२४ मा, र्याडिसन ब्लू होटल, दोहा,कतार, २०२४ एसियाली युवा तथा जुनियर भारोत्तोलन च्याम्पियनसिपको दौरान।”
पार्थो सरकार
राजविराज, सप्तरी, नेपाल
मिठु गुरु अर्थात पार्थसारथी सेन गुप्ताको जन्म मोरङको विराटनगरमा वि.सं. २०११ सालमा भएको थियो। खेलकूदमा रुची राख्ने गुप्ता स्थानीय सत्य नारायण हाइस्कुलमा अध्ययन गर्दा देखि नै अशोक दत्त लगायतका साथीहरुसंग मिलेर फुटबल खेल्न थाले। वि.सं. २०२२ सालतिर भारतीय चलचित्रमा अभिनेता द्वारा देखाउने कुस्तिको दाउपेचबाट गुप्ता प्रभावित भए। नदी छेउमा गएर साथीहरुसँग कुस्ति खेल्न थाले। उतिबेला भारतीय बडी बिल्डर कार्तिक दास घुम्न नेपाल आएका थिए। उनको शरीर सुगठित र बलिष्ठ थियो। गुप्ताको उनीसँग संगत हुन थाल्यो। स्थानीय कमल दासले भारत कोलकाताबाट केही थान किटका पाउण्ड र केही डम्बेल सेटहरु ल्याएर आफ्नै घरमा जिम गर्न शुरु गरेका थिए। उनीसँगै गुप्ताले पनि व्यायाम गर्न थाले। पछि गुप्ताले दिपक केशीको घरमा व्यायाम गर्ने गरेको उनी बताउँछन्। पछि उनले विराटनगरको मुख्य बजारमा रहेको आफ्नो घरमा नै एनेक्स व्यायामशाला खोले। त्यतिबेला गुप्ता लगायत दिपक केशी, लक्ष्मीनारायण वैद्य, योगनारायण वैद्य, गोपाल श्रेष्ठ, राजु श्रेष्ठ, पुष्प श्रेष्ठ, नायक शिव श्रेष्ठ, बासुदेव शर्मा, भुमी श्रेष्ठ लगायतका युवाहरुले उतिबेला विराटनगरमा व्यायम गर्ने गरेको उनी बताउँछन्।

घनश्याम मुखिया भारतमा विश्व बिहार शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेर वि.सं. २०२७ साल तिर नेपाल फर्किएका थिए। उति बेला विराटनगर तिर कुस्ति पेहलवानीको खुब प्रचलनमा थियो। सुरुवातदेखि हेर्ने हो भने शारीरिक सुगठन खेललाई भारत्तोलनसँग नै जोडिएर हेरिन्थो। उनले यो पहलमानी नभइ शारीरिक सुगठन (बडी बिल्डिङ्) भएको कुरा युवाहरु लाई बुझाए। एकपटक विराटनगरमा भएको विराट मेलामा गुप्ताको चिनजान मोहन डंगोलसँग भयो। जो विराटनगरको रानी भन्ने ठाउँमा राजभक्त प्रधानाङ्गसगं मिलेर व्यायाम गर्ने गर्थे। सबैले मिलेर विराटनगरमा एउटा शारीरिक सुगठनको प्रतियोगिता गर्ने निधो गरे। सल्लाह गरेबमोजिम वि.सं. २०३० सालमा तत्कालीन अवस्थामा ईंटाभट्टाका संचालक अर्जुनप्रसाद अर्यालको आर्थिक सहयोगमा विराटनगरको हिमालयन हलमा प्रथम मिष्ट्रर विराटनगर शारीरिक सुगठन प्रतियोगिता सम्पन्न भयो। जसमा सुमन श्रेष्ठ उपाधि विजेता बने। मिठु सेन गुप्ता समुह उपविजेता बने। उनले भारतीय प्रसिद्ध बडिबिल्डर निलमणि दास र मिस्टर युनिभर्स मनोहर आइच्जले बनाएको चार्टहरु मगाएर व्यायाम गर्ने गरेको उनी बताउँछन्। मोरङ स्वास्थ्यबर्द्धक संघको तत्कालीन अध्यक्ष नरेन्द्र नाथ अधिकारी गुप्ता, अशोक दत्त, लक्ष्मीनारायण वैद्य, भुमि श्रेष्ठ लगायत युवाहरु मिलेर जिल्ला प्रशासन कार्यालय मोरङमा शारीरिक सुगठन संघ दर्ता गर्न प्रयास गरे। उतिबेला प्रशासनले खेलकुदका गतिविधिमा कडाई गरेको थियो। खेलकुदमा नाममा राज्य व्यवस्था विरोधी गतिविधि संचालन गर्छन् भन्ने शंका गर्दै प्रशासनले स्वीकृति दिइएन। शारीरिक सुगठन खेल लगायतमा संलग्न हुने लाई उतिबेला राज्यले दादा गुण्डाको संज्ञा दिइन्थ्योl

वि.सं. २०३३ साल तिर साहित्यकार माधव सापकोटाले तिन पहुनी विराटनगरमा आधुनिक व्यायामशाला खोले। जसमा रामथापा चन्द्र थापा, जयकिसान राजवंशी, अशोक दत्त र माणीक दत्त लगायतले व्यायाम गर्ने गरेको उनी बताउँछन्। ,वि.सं. २०३४ सालमा वीरेन्द्र सभागृहमा त्रिभुवन आदर्श क्लबको आयोजनामा भएको दोस्रो मिस्टर विराटनगर प्रतियोगिता सम्पन्न भयो। जसमा मोहन डंगोल उपाधि विजेता भए। मिठु सेन गुप्ता बजन समुहमा प्रथम भएका थिए। र उनी फाइनलमा उपविजेता हुन सफल भए। वि.सं. २०३६ सालतिर रघुराज पन्त विराटनगर आए। जसले एमेच्योर एथलेट्रिक युनियन मार्फत काठमाडौंमा जिमखाना संचालनका साथै मिष्ट्रर काठमाण्डौ प्रतियोगिता आयोजना गर्ने गर्थे। रघुराज पन्तले विराटनगरका युवाहरुर्लाइ शारीरिक सुगठन खेलका सीपहरु सिक्ने अवसर प्रदान गरे। वि.सं. २०३६–३७ साल तिर विराटनगरमा जिल्ला शारीरिक सुगठन तथा भारत्तोलन संघको आयोजनामा मिष्ट्रर हर्कुलिश एवं स्ट्रङ् म्यान प्रतियोगिताको आयोजना भयो। जयकिसान राजवंशी मिस्टर हर्कुलिश उपाधि तथा स्ट्रङ् म्यानको उपाधि आफूले जित्न सफल भएको गुप्ताले बताए। वि.सं. २०३६ मा प्रथम राष्ट्रिय कवड्डी प्रतियोगिताको आयोजना हुने भयो। जसमा कोशी अञ्चलबाट धरान र विराटनगरका युवा बडी बिल्डर खेलाडीहरुले कबड्डी प्रतियोगितामा भाग लिने गरि तयारी शुरु भयो। जसमा आफू लगायत रमेश खनाल, राजभगत प्रधान, नरेन्द्रनाथ अधिकारीको समूह रहेका थिए। तत्कालीन पूर्वाञ्चलबाट प्रथम राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुने टोलीमा प्रायः सबै बडी बिल्डरहरू नै थिए। काठमाडौंमा भेट भएका थप बडी बिल्डरहरूसँगको सल्लाहमा उनीहरू संघ दर्ता गर्ने प्रयासमा जुट्न थाले। तत्कालीन राखेपका सदस्य(सचिव कुमार खड्कविक्रम शाहका पालामा उनीहरुले बडी बिल्डिङ संघ दर्ताका लागि निकै पहल गरे तर सफल भएनन्। त्यस पछिका सदस्य–सचिव शरद चन्द्र शाहले समेत अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमा बडी बिल्डिङ संघ नभएको भन्दै राखेपमा दर्ता गर्न नमिल्ने बताए। तर, शाहले यसै खेलसँग मिल्दो जुल्दो अर्को खेलको भारोत्तोलनका नाममा दर्ता गर्न सकिने उपाय सुझाए। त्यसपछि उनीहरुले नेपाल भारोत्तोलन तथा शारीरिक सुगठन संघको दर्ता गर्न सफल भएको उनले भने।

वि.सं. २०३६ सालमा पहिलो राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न भएको थियो। ७५ केजी तौल समूहमा मिठ्ठु सेन गुप्ताले ३०० पाउण्ड भार वहन गर्दै स्वर्ण जितेका थिए। वि.सं. २०३७ सालमा सम्पन्न भएको तेस्रो विराटनगर शारीरिक सुगठन प्रतियोगितामा पुष्प श्रेष्ठ विजयी भएको गुप्ता बताउँछन्। वि.सं. २०३९ सालमा धरानमा स्ट्रङ म्यान अफ् कोशी आयोजना भएको थियो। जसमा हेभीवेट तर्फ राजभगत प्रधानाङ्गले उपाधि जितेका थिए भने मिडल बजेटबाट मिठु सेन गुप्ता विजेता भएका थिए। राष्ट्रिय खेलकुद परिषदको आयोजनामा वि.सं. २०३९ सालमा राजबिराजमा भएको दोस्रो राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताम मिठु सेन गुप्ता निर्णायकको भूमिका निर्वाह गरेको उनी बताउँछन्। त्यही साल उनी राष्ट्रिय खेलकुद परिषदमा भारोत्तोलन तर्फका सहायक प्रशिक्षकका रुपमा नियुक्त भए। स्थापनाकालमा नेपाल भारोत्तोलन तथा शारीरिक सुगठन संघको अध्यक्ष केयुर शमशेर जबरा र महासचिवमा रमेश खनालले जिम्मेवारी सम्हालेका थिए। पछि रमेश खनाल अध्यक्ष भएको बेला विष्णु दाहाल महासचिव भएर कामकाज गरेका उनी बताउँछन्। अध्यक्ष गिरीबहादुर केशी तथा गुप्ता महासचिव भएर संघको बागडोर समेत सम्हालेको उनी सम्झन्छन्। विज्ञान विषयमा स्नातक गरेका गुप्ताले भारतको पतियालाबाट भारोत्तोलन सम्बन्धी एकवर्षे, मस्कोबाट छ महिने लगायत विभिन्न मुलुकबाट समेत तालिमहरु लिएको उनी बताउँछन्। भारत्तोलनको प्रशिक्षकको हिसाबले जिल्लाहरुमा जाँदा उनले स्थानीय बडी बिल्डिङ्ग खेलाडीहरुलाई समेत तालिम दिने गरेको गुप्ता बताए। उनी प्रशिक्षणको दैरानमा नेपालगञ्ज गएका बेला राजु केशी, लबराज श्रेष्ठ र वीरेन्द्र हमाल लगायतका स्थानीय बडी बिल्डरहरु शारीरिक सुगठन खेलका सीपहरु सिक्ने अबसर प्रदान गरेका थिए। त्यस पछि उनले आफ्नो नेतृत्वमा नै नेपालगञ्जमा पहिलो पटक शारीरिक सुगठन प्रतियोगिताको आयोजना समेत गरेको उनी बताउँछन्। जीवनमा पहिलो पटक शारीरिक सुगठनको सम्बन्धि प्रशिक्षण दिएकाले मिठु गुप्तालाई नै आफ्नो पहिलो गुरु मान्ने गरेको रुपन्देही पुराना शारीरिक सुगठनका खेलाडी शिवध्वज राई बताउँछन्। हाल बडी बिल्डर गुप्ता भारोत्तोलन खेलका अन्तराष्ट्रिय निर्णायक तथा एसियाली भारोत्तोलन महासंघ प्रविधिक कमिटीका सचिव तथा एशियाली भारोत्तोलन महासंघ एडब्ल्युएफ कार्यकारी बोर्ड सदस्यको रुपमा क्रियाशील छन् तर उनलाई शारीरिक सुगठन खेल तर्फको मोह भने छुटेको छैन। शारीरिक सुगठन खेलका अग्रज तथा अगुवा खेलाडी पार्थसारथी सेन गुप्ता आज पनि हामी सबै खेलाडीका लागि प्रेरणाका स्रोत हुन्।