फाइनलका आकर्षकहरू:
*राहुल थापा *खुशी दुतराज *शाहरुख राई *ईश्वर सुन्दास *अलिशा शंकर
- प्रथम पुरस्कार: रु० २५ हजार
- दोस्रो पुरस्कार: रु० १५ हजार
- तेस्रो पुरस्कार : रु० १० हजार
खरसाङ: नयाँ वर्ष २०२५ को आगमनसँगै ३ जनवरीको दिन खरसाङमा ‘नमस्ते आइडल-२०२४’ सिजन २ को फाइनल प्रतियोगिता रमाइलो रंगारंग कार्यक्रमका साथ आयोजना हुनेछl फाइनलको लागि आज सेमी फाइनलबाट पाँच जना प्रतियोगी गायक-गायिकाहरू चयन भएका छन्l फाइनलमा प्रवेश गर्नेहरूमा राहुल थापा, खुशी दुतराज, शाहरुख राई, ईश्वर सुन्दास र अलिशा शंकर रहेका छन्l

‘नमस्ते आइडल- २०२४’को लागि अनलाइन प्रक्रियाद्वारा अडिशन गरिएको थियोl जसमा १३ जना प्रतियोगी गायक-गायिकाहरू चयन भएका थिएl हिजो (२१ दिसम्बर) खरसाङको क्याम्ब्रिज इङ्गलिस स्कूलको हलमा यिनै १३ जना प्रतियोगीहरू माझ पहिलो चरणमा लाइभ राउण्ड सम्पन्न भएको थियोl लाइभ राउण्डमा संगीतबिना गाउनु पर्ने थियोl दोस्रो राउण्डमा ट्रयाक राउण्ड, जसमा ट्रयाकमा गाउनु पर्ने थियोl यसबाट १० जना प्रतियोगीहरू चयन भएका थिएl यिनै १० जना प्रतियोगीहरूमा आज सोही स्कूलको हलमा फाइनलको लागि पाँच जना चयन भएका हुन्l

नेपाली गायन प्रतियोगिता ‘नमस्ते आइडल-२०२४’ सिजन-२ दार्जीलिङ पहाडी भेकको लोकप्रिय टीभी च्यानल नमस्ते खरसाङले आयोजना गरेको होl नमस्ते खरसाङले गत वर्षदेखि यो प्रतियोगिता शुरु गरेको होl यसपालीको प्रतियोगितामा निर्णायकहरू सुपरिचित संगीतकार तथा संगीत संयोजक उपेन्द्र प्रधान, गायिका तथा लेखिका श्रीमती प्रमिता गुरुङ अनि सुपरिचित संगीतकार तथा संगीत संयोजक महेश्वर तामाङ (आकाशवाणी खरसाङका पूर्व संगीतकार) प्रतियोगिताका ग्राण्ड मास्टर रहेका छन्l यस प्रतियोगितालाई एनके समाचारका समाचारवाचक विश्व सुब्बाको उद्घोषणाले अझ रमाइलो बनाएको छl यस प्रतियोगिताको ‘नमस्ते आइडल-२०२४’ सिजन २ मा प्रथम पुरस्कार २५ हजार रुपियाँ, दोस्रो पुरस्कार १५ हजार रुपियाँ अनि तेस्रो पुरस्कार १० हजार रुपियाँ राखिएको छl नयाँ प्रतिभाहरूको प्रतिभालाई निखार्ने, अझ ठूला मंचमा प्रतिस्पर्धा गर्न आत्मविश्वास बलियो बनाउने, उर्जा सञ्चार गराउने यो प्रतियोगिताको उद्देश्य रहेको नमस्ते खरसाङका प्रबन्धन निर्देशक निर्माल गुरुङले बताएका छन्l