नयाँ दिल्ली: कप्तानको रूपमा यस साल ४ वटा घरेलु क्रिकेट टुर्नामेण्ट जित्ने श्रेयस अय्यरको आउँदो लक्ष्य आईपीएल २०२५-मा पञ्जाब किंग्सलाई च्याम्पियन बनाउने रहेको छ। अय्यरको कप्तानीमा गत संस्करणमा कलकत्ता नाइट राइडर्स आईपीएल च्याम्पियन बनेको थियो। यसैकारण नयाँ सालमा पञ्जाब किंग्सलाई खिताब दिलाएर उनी लगातार दुईवटा फ्रेञ्चाइजीबाट खिताब जित्ने पहिलो कप्तान बन्ने प्रयास गर्नेछन्। कप्तानको भूमिकामा राखेर टोलीलाई च्याम्पियन बनाउने लक्ष्यको साथ नै पञ्जाब किंग्सले आईपीएलको मेगा लिलामीमा अय्यरलाई २६.७५ करोड़ रुपियाँको खरीद गरेको थियो। यसरी उनी आईपीएल इतिहासको दोस्रो सबैभन्दा महँगो क्रिकेटर बनेका थिए। यस साल अय्यरको कप्तानीमा मुम्बईले २०२४- २५ सैयद मुश्ताक अली ट्रफी (एसएमएटी) टी२० प्रतियोगिता जित्यो। यसैकारण हालका सफलताहरूमाथि विचार गर्दै अय्यरले आईपीएलको आउँदो सीजनलाई लिएर फ्रेञ्चाइजीद्वारा सोशल मीडियामा शेयर गरिएको पोस्टमा भनेका छन्, एसएमएटी जत्नु एउटा असाधारण अनुभव रह्यो। पर्दापछि धेरै मेहनत गरियो अनि खेलाड़ीहरूले मैदानमा असाधारण प्रदर्शन गरे। अहिले मेरो निम्ति यस हिस्साको काम पूरा भइसकेको छ अनि अब आउँदो ठूलो लक्ष्य आईपीएल तर्फ बढ़िरहेको छु। म पञ्जाब किंग्सको हिस्सा बन्न उत्साहित छु। आईपीएल २०२५ सीजनको तयारी गरिरहेका श्रेयसको प्राथमिक लक्ष्य पञ्जाब किंग्सलाई पहिलोपल्ट आईपीएल च्याम्पियन बनाउनु हो। उनले भने, यो मेरो निम्ति व्यक्तिगत रूपले असल साल रह्यो। अब मेरो मुख्य लक्ष्य पञ्जाबको निम्ति आईपीएल ट्रफी जित्ने रहेको छ। म प्रशंसकहरूका भावनालाई बुझ्छु अनि रिकी पोण्टिंगको आगमनले खुशी छु। हामीसँग एउटा नयाँ टोली छ। आउँदो सीजनमा हाम्रो लक्ष्य पहिलो म्याचदेखि नै आफ्नो छाप छोड़्ने हुनेछ। आईपीएलमा असल शुरुवात महत्त्वपूर्ण हुन्छ।










