गान्तोक: मुख्यमन्त्री तथा सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीका अध्यक्ष प्रेमसिंह तामाङ आज १६औं रोलु दिवसमा उपस्थित हुन सकेनन्। केन्द्रिय गृहमन्त्री अमित शाहको अध्यक्षतामा आज आयोजित पूर्वोत्तर परिषदको ७२औं पूर्ण सत्रमा सहभागी हुन त्रिपुराको राजधानी अगरतला गएकाल कारण उनी रोलु दिवसमा सहभागी हुन नसकेको हो।
मुख्यमन्त्री तामाङले आज आफ्नो आधिकारिक फेसबुक पेजको पोस्टमा एक सन्देश जारी गरेर यो ऐतिहासिक अवसर सिक्किमका जनताको अद्वितीय साहस, दृढ संकल्प र अदम्य भावनाप्रति सम्मान रहेको बताउॅंदै सबैप्रति आफ्नो गहिरो कृतज्ञता र उच्च सम्मान व्यक्त गरेका छन्। उनले रोलु मन्दिर परिसरको पवित्र खेतबारीबाट शुरू भएको संघर्षका समयहरू स्पष्टरूपमा सम्झन्छु भन्दै अटल भक्ति र बलिदानको साथमा अपार परीक्षा र कष्टहरू सहेर तत्कालीन शासनको निरंकुशता विरुद्ध परिवर्तनको जग बसाएको उल्लेख गरेका छन्।
मुख्यमन्त्रीले जनताको लगनशीलता, त्याग र न्याय तथा लोकतन्त्रप्रतिको दृढ प्रतिबद्धताका लागि कृतज्ञता व्यक्त गरेका छन्। उनले जनताको साहसले विगतलाई आकार दिनुका साथ-साथ अगाडिको बाटोलाई उज्यालो पारेको बताएका छन्। हामीले महत्वपूर्ण कोसेढुङ्गाहरू हासिल गरिसकेका छौं, तर हाम्रो अभियान अझै पनि अधूरो छ भनी उनले आफ्नो सन्देशमा बताएका छन्। उनले सिक्किमका सबै क्षेत्रमा प्रगति, एकता र उत्कृष्टताको ज्योतिको प्रतीक बनाउनका लागि हामी सङ्कल्परत भएर अघि बढ्न जोड़ दिएका छन्।
मुख्यमन्त्रीले रोलु मनोकामना सिद्धि देवीलाई विनम्रतापूर्वक प्रणाम गर्दै सिक्किमेलीको सफलता, समृद्धि र कल्याणको लागि ईश्वरीय आशीर्वादको समेत कामना गरेका छन्।