गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले १६औं रोलु दिवस आज दक्षिण जिल्लाको रोलु बगरमा भव्यरूपमा पालन गर्यो। आजको यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा सिक्किम विधानसभाका अध्य़क्ष एमएन शेर्पा रहेका थिए भने विशिष्ट अतिथिमा मुख्यमन्त्रीपत्नी कृष्णा राई लगायत मन्त्रीगण, विधायकगण, मुख्यमन्त्रीका राजनीतिक सचिवद्वयलगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। आजको यस महत्वपूर्ण कार्यक्रममा मुख्यमन्त्री तथा पार्टी अध्यक्ष प्रेम सिंह तामाङ कतिपय महत्वपूर्ण कार्यले गर्दा उपस्थित हुन सकेनन् तर उनको सन्देश सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापाले पठन गरिन्।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पाले मुख्यमन्त्रीले चाहेर पनि आजको यस कार्यक्रममा उपस्थित हुन नपाएको बताए। विशेष गरेर सिक्किम र सिक्किमे जनताको हितमा केही कुरा राख्नु पर्न भएकोले उनी अगरतलामा आयोजित सभामा गएको जानकारी गराए। पहिलो रोलु दिवसमा त्यति धेरै मात्रामा मानिसहरू भेला हुन्छन् भन्ने कसैले पनि नसोचेको अवगत गराउँदै त्यसै दिनदेखि क्रान्ति शुरू भएको बताए। उक्त बनभोजमा जानेहरू मध्ये ३१ जनालाई पूर्व सरकारले भिक्टिमाइज गरेको जानकारी गराए। वर्तमान मुख्यमन्त्री वर्ष २०१७ मा कारावास हुँदा त्यसताकका नेताहरूले अब एसकेएम पार्टी सकियो भन्दै जनतालाई दिगभ्रमित तुल्याउने गरेको किटान गरे। एसकेएम पार्टी सत्तामा आउन भन्दा राज्यका बासिन्दाहरू जात र धर्मको नाममा विभाजित थियो, तर एसकेएम पार्टी सत्तामा आएपछि टुक्रिएर बसेका राज्यका मानिसहरूलाई एकताको सुत्रमा बाँध्ने काम गरेको दावी गरे। पार्टीलाई बचाउने काम केवल मुख्यमन्त्रीको मात्र नभएर पार्टीका सबै कार्यकर्ताहरूको रहेको हुनाले यसलाई धेरै वर्षसम्म बचाउनको निम्ति सबैले मनबाट नै काम गर्नुपर्ने आग्रह गरे। यसै क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भोजराज राईले विशेष गरेर रोलु दिवसको औचित्य र महत्वबारे विस्तृतरूपमा जानकारी गराए। सरकारी नोकरीले केवल गरिखाने मात्र बनाउँछ, तर उन्नतशिल बनाउन नसक्ने बताए। यसर्थ व्यवसायमा लाग्नु पर्ने उनले राज्यका युवाहरूलाई आग्रह गरे। उनले राज्यका शिक्षित युवाहरूलाई प्रतिस्पर्धात्मकरूपमा अघि बढनु पर्ने सुझाउ दिए। सिक्किमका मानिसहरूमा व्यवसाय गर्ने गुण नरहेको र गुणयोग्य बनाउनु पर्ने अपील गरे।सिक्किम राज्यमा अब अनुप्रवेशकारीको आगमनमा नियन्त्रण गर्नु पर्ने समय आएको बताए। आफू शहरी विकास विभागको मन्त्री भएको कारण अबोप्रान्त सिक्किम सबजेक्ट नभएकाहरूलाई लाइसेन्स नदिने घोषणा गरे। उनले सत्तामा पुगेर मातिन नहुने र सत्ताबाट बाहिरएपछि आत्तिन नहुने विचार व्यक्त गरे।