गान्तोक: केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा आज त्रिपुराको अगरतलामा उत्तर पूर्वी परिषदको ७२औँ प्लिनेरी सभा सम्पन्न भयो। यस अवसरमा राज्यका राज्यपाल ओम प्रकाश माथुर, मुख्यमन्त्री प्रेमसिंह तामाङ, मुख्य सचिव भीबी पाठक लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। यस सभाको अध्यक्षता गृहमन्त्री अमित शाहले गरेका थिए। सभालाई सम्बोधन गर्दै राज्यका मुख्यमन्त्री तामाङले क्षेत्रीय विकास र सहकार्यलाई अघि बढाउने उद्देश्यले महत्वपूर्ण सरोकार र प्रस्तावित पहलहरूमाथि प्रकाश पारे। मुख्यमन्त्री तामाङले विशेष गरेर केन्द्रीय बजेट २०२४-२५ र गृहमन्त्रीको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै विकसित भारत-२०४७ को सामूहिक दृष्टिकोणमाथि जोड दिए। उनले राज्यको अर्थतन्त्रको लागि महत्वपूर्ण क्षेत्रको रूपमा पर्यटन र एमएसएमईको महत्त्वमाथि प्रकाश पार्दै प्रस्तावित एनईसी पाइलट परियोजना मार्फत पर्यटन पूर्वाधारलाई बलियो बनाउन र उद्यमशीलतालाई प्रवर्द्धन गर्न केन्द्र सरकारलाई आग्रह गरे।
मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा प्रमुख प्रस्तावहरूमा सिक्किम हुँदै कैलाश मानसरोवर यात्रा मार्ग पुन: खोल्ने र नेपाल सीमामा चिवा भञ्ज्याङमा एकीकृत चेकपोस्ट सहितको बहुआयामिक करिडोर स्थापनाका लागि आग्रह गरे। यी उपायहरूले सडक व्यवस्थालाई अझ मजबुत बढाउने, व्यापारलाई सहज बनाउने र क्षेत्रीय सम्बन्धलाई सुदृढ पार्ने कुरामा जोड दिए। उनले सिक्किममा इको-टुरिज्म परियोजनाहरूको सफलतालाई पनि प्रकाश पारे, जसले उत्तरपूर्वी क्षेत्रमा यस्ता पहलहरूलाई दोहोर्याउने सम्भावनामाथि प्रकाश पारे।
गत वर्षको ४ अक्टोबरको दिन टिस्टा नदीमा जलस्तरको वृद्धि भएपछि राष्ट्रीय राजमार्गमा देखिएको अवरोध र रेलवे परियोजनामा ढिलाइ जस्ता आवश्यक मुद्दाबारे अवगत गराए। मुख्यमन्त्री तामाङले थपरूपमा भरपर्दो उडान सेवाहरू सुनिश्चित गर्न संरचनात्मक सुधारहरूसँगै पाकिम विमानस्थलमा सबै मौसम उडान सञ्चालन हुनुपर्ने विषयमाथि जोड दिए। उन्नती योजना २०२४ को परिवर्तनकारी प्रभावलाई स्वीकार गर्दै मुख्यमन्त्रीले युवा रोजगारी र सीप विकासमा ध्यान केन्द्रित गराए।