गान्तोक: बिहारका प्रगतिशील कृषकहरूका लागि शुरु गरिएको जैविक खेतीसम्बन्धी पाँच दिवसीय प्रशिक्षण कार्यक्रम आज समाप्त भयो। गत १६ दिसम्बरदेखि शुरु भएको प्रशिक्षणको समापन कार्यक्रममा आज कृषकहरुले प्रशिक्षणबाट प्राप्त अनुभवहरु साझा गरेका थिए। भारतीय कृषि अनुसन्धान केन्द्र तादोङले बिहार सरकारको कृषि विभागको सहकार्यमा प्रशिक्षण आयोजन गरेको हो। कार्यक्रममा २२ प्रगतिशील कृषकहरूको टोलीले भाग लिएका थिए। जसमा उनीहरुलाई जैविक उत्पादन प्रविधिमा सिक्किमले गरेका विभिन्न प्रगतिहरूबारे जानकारी गराइएको थियो। यस अवसरमा कृषि वैज्ञानिक डा. रामगोपाल देवदासले जैविक उत्पादन प्रविधिको प्रवर्द्धनमा यस प्रशिक्षण कार्यक्रमको सान्दर्भिकतामाथि प्रकाश पारे। उनले भारतीय कृषि अनुसन्धान केन्द्र सिक्किम केन्द्रद्वारा विकसित विभिन्न प्रविधिहरूको बारेमा जानकारी गराएका थिए। उनले यस प्रविधिलाई विस्तार गर्न थप प्रशिक्षण कार्यक्रमहरू आयोजना गर्न बिहारका कृषकहरूसँग दीर्घकालीन सहकार्यको इच्छा व्यक्त गरे। नोडल अधिकारी तथा माटो विशेषज्ञ डा. सावन कृष्ण दासले जैविक बाली उत्पादन शुरु गर्न खेती प्रणालीमा पशुपालनको महत्वबारे जनाउँदै यसलाई प्रमुखतासित समावेश गर्ने महत्त्वमा जोड दिए। उनले एकीकृत जैविक पोषक तत्व व्यवस्थापन अभ्यास, प्राकृतिक खेती र एकीकृत खेती प्रणालीको आवश्यकतामा जोड दिए। वरिष्ठ वैज्ञानिनक डा. एस. के दत्तले जैविक नर्सरी व्यवस्थापन र फल उत्पादन प्रविधिहरूबारे विस्त रुपमा जानकारी दिए। अर्का वैज्ञानिक डा. सौरभ साहाले ‘सिक्किममा कृषि विस्तार गर्न एकीकृत मौसम-आधारित कृषि सल्लाहकार सेवाहरू’ उपलव्ध गराएर लाभान्वित गर्दै आएको जानकारी गराए। बिरुवा प्रजनका वरिष्ठ वैज्ञानिक डा. ई एल देवीले ‘जैविक बीउ उत्पादन प्रविधि र बाली विविधता चयन’बारे उपस्थित सबैलाई जानकारी गराए। सिक्किममा जैविक बाली उत्पादन प्रविधिबारे उल्लेख गर्दै उनले सहभागीहरूलाई जैविक प्रणाली अन्तर्गत दुग्ध र कुखुरा व्यवस्थापनको बारेमा पनि विस्तृत जानकारी गराए। तालिम कार्यक्रममा बिहारबाट आएका अधिकारीहरू, अमित कुमार र सोनु कुमारले पनि सिक्किममा लिएका ज्ञानबारे अनुभव राखेका थिए। तालिममा सामेल सबै कृषकहरूले आईसीएआर सिक्किम केन्द्र अनुसन्धान फार्मको भ्रमण गरेका थिए भने यसबीच उनीहरूलाई सञ्चालित अनुसन्धान, प्रदर्शन र विअकास गतिविधिहरूको बारेमा जानकारी गराएको थियो। तालिमको समापन अवसरमा लाभार्थीहरुले भारतीय कृषि अनुसन्धान केन्द्र सिक्किमको प्रयासलाई सराहना गर्दै व्यवस्थित कार्यक्रमको लागि प्रशंसा गरे। त्यसपछि सबै सहभागीहरूलाई तालिम प्रमाणपत्र वितरण गरियो।