गान्तोक: भालेढुङ्गा साहित्यिक मञ्चको मासिक प्रकरणको क्रममा यसपटक पर्यटकीय एवं धार्मिक महत्व बोकेको भालेढुङ्गा चुचुरो परिसरमा व्यापक साफसफाई एवं भालेढुङ्गा साहित्यिक मञ्चको प्रायोजनमा तयार पारिएको बाँसको चोयाद्वारा निर्मित कुडादानीको जडान पनि गरिएको छ। मञ्चका सल्लाहकार एवं समाजसेवी सीएल गुरुङको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो। साहित्यिक एवं सामाजिक रूपबाट अत्यन्तै महत्वपूर्ण यो कार्यक्रममा भालेढुङ्गा साहित्यिक मञ्चका अध्यक्ष पीएल दङ्गालको पनि उपस्थिति रहेको थियो। भालेढुङ्गा साहित्यिक मञ्चका सल्लाहकारगण, कार्यकारणी समितिका विभिन्न सदस्य सदस्यागण, मञ्चका वार्षिक एवं आजीवन सदस्यगण, साहित्यप्रेमी एवं समाजसेवी व्यक्ति विशेषहरूको उपस्थिति रहेको थियो। मञ्चको कार्यकारणी समितिको साहित्य प्रकोष्ठकी उपाध्यक्ष गीताश्री शर्माले सञ्चालन गरेको कार्यक्रममा विभिन्न स्रष्टाहरुले कथा, कविता, मुक्तक एवं बाल गीत वाचन गरेका थिए। डा. केएल दवाडी, प्रह्लाद दवाडी, लिला भट्टराई, होमनाथ नेपाल, पद्म भट्टराई, विष्णु भण्डारी, अनिल दवाडी, आलोक गुरुङ, तुलसी पोख्रेल, दिलकुमार खाती र लोचन भण्डारीले क्रमैसँग रचना वाचन गरेका थिए। भालेढुङ्गा परिसरमा अवस्थित एउटा चौरमा आयोजित सो प्रकरणमा मञ्चका अध्यक्ष दङ्गालले भालेढुङ्गाको किम्बदन्ती एवं पौराणिक तथ्यमाथि चर्चा गरे भने सदस्य टीबी भण्डारीले मन्तव्य राखे। सभाध्यक्षले आफ्नो सम्बोधन राख्ने क्रममा याङगाङको साहित्यिक परिप्रेक्ष्यमा पुर्याएको योगदानको उल्लेख गर्दै मुग्ध कण्ठले प्रशंसा गरे। कार्यक्रममा मञ्चका कोषाध्यक्ष टिपी गौतमले कृतज्ञता ज्ञापन गरेर औपचारिक ढंगमा समापन गरे। उल्लेखनीय छ, भासामको लोवर राङगाङस्थित कार्यालयमा मञ्चको साहित्यिक प्रकोष्ठकी उपाध्यक्षा गिताश्री शर्माद्वारा प्रायोजित नागरिक सुचना पटको विधिवत रूपमा जडान पनि गरियो।