सिलगढी: चर्चित उपन्यास ‘फातसुङ’ आएको पाँच सालपछि छुदेन काविमोको नयाँ उपन्यास ‘उरमाल’ जनवरी २०२५ मा सार्वजनिक हुँदैछ। अर्को महीना आउने किताबको कभर र बुकलेट आज सालबारी स्थित ट्वीन्स क्याफेमा सार्वजनिक गरिएको थियो। नेपालमा फाइन प्रिन्ट र इण्डियामा इन्कवेलले प्रकाशित गरिरहेको उक्त उपन्यासमा चिया उमार्नेहरूको कथा रहेको छ। लेखक काविमो भन्छन्, ‘जुन चिया पिएर तपाईँ दिनको शुरुवात गर्नुहुन्छ नि, उरमाल त्यही चिया उमार्नेहरूको कथा हो। यसैले यो तपाईँको पनि कथा हो।’ सालबारीमा आयोजित विशेष कार्यक्रमबीच वरिष्ठ लेखक मोहन ठकुरी, ज्ञानेन्द्र खतिवडा, लेखा राई र लेखक काविमोको हातबाट आज कभर सार्वजनिक गरिएको थियो। पुस्तकको कभरसँगै उपन्यासको एउटा अंश र लेखकको अन्तरवार्ता समेटिएको बुकलेट पनि सो अवधि उपस्थित साहित्यिक व्यक्तित्वहरुको हातबाट सार्वजनिक गरिएको थियो। सो अवधि ‘फातसुङदेखि उरमालसम्म’- भन्ने शिर्षकमा लेखक काविमो, प्रकाशक छेवाङ योञ्जन र सूरज रोसूरीबीच संवाद पनि सम्पन्न भयो। सो अवधि प्रकाशकले किताबको बुकलेट ल्याउनुको उद्देश्यबारे लेखक काविमोले भने, ‘फातसुङको माध्यमबाट धेरैले नेपाली किताब पहिलोचोटि पढेको खबर सुनेको थिएँ। त्यो सुन्दा आफैलाई रमाइलो लागेको थियो। फातसुङलाई पहिलोचोटि पढ्नेहरूलाई म यहाँबाट पनि आह्वान गर्छु, तपाईहरूले थप नयाँ दुई जनालाई उरमाल पढ्न सुझाइदिनु भए म सब भन्दा धेर खुशी हुनेछु। बुकलेट बिशेष रूपले पहिलोचोटि नेपाली पढ्न चाहने वा कलेजका विद्यार्थीहरूसम्म पुगोस्, भन्ने इच्छा हो। यसको निम्ति इन्कवेल टीमले निश्चय काम गर्ला।’ उनले यसचोटिको उपन्यासमा डुवर्स केन्द्रित चियाबारीभित्रको आदिवासी र नेपालीहरूको जीवन र उनीहरूको कथा समेटिएको बताएका छन्। उपन्यासको रिसर्च अवधि लामोसमयसम्म सहयोग गर्ने डुवर्सका हरेक सदस्यप्रति पनि उनले आभार व्यक्त गरेका छन्।

यता प्रकाशक सुरज रोसरीले प्रकाशन क्षेत्रमा नयाँ तकनिक भित्रिएको बारे प्रकाश पारेका हुन्। उनले भने, साहित्यलाई स्तरीय बनाउनु हो भने प्रकाशकहरूको भूमिका महत्त्वपूर्ण रहँदो रहेछ। फातसुङको काम गर्दा हामीले धेरावटा तकनिकी नयाँ कुराहरू पायौँ। सर्जकले पाण्डुलिपि लिएर आएपछि, त्यो पढेर चाहिँदो सुझाव दिनु, सुझाव अनुसार लेखकले रिराइट गर्नु, बारम्बार पुनरालेखनको अभ्यास जस्ता थुप्रै खुड्किलो पार गरेर राम्रो किताब तयार हुँदो रहेछ। फातसुङ त्यसरी तयार भएको हो।’ उनले युवा सर्जकहरूलाई आख्यान लेखनमा कलम चलाउने सुझाव दिएका छन्। यता छेवाङ योञ्जनले किताब बजारबारे टिप्पणी गरेका थिए। राम्रो किताब पाठकले खोजी खोजी पढ्ने गरेको बताउँदै उनले भने “आजको पाठक सचेत छन्। किताबको कभर हेरेरै कन्टेन पत्तो लगाउने खालका छन्। लेखकको मेहनत किताबमा झल्किन जरुरी छ। हामीसँग आनलाइनमा हजारौँ नेपाली पाठकहरू जुडेका छन्। अनलाइनमा आएका पाठकहरू किताब पढ्न भनेरै आएका हुन्छन्। तर पाठकहरूको चासो अनुसारको आख्यान खासै नआएको हो कि?” उरमालको पाण्डुलिपि हेरेपछिको अनुभव शेयर गर्दै उनले भने, “उरमालले उठाएको मुद्दा गम्भीर छ। प्रस्तुति रोचक छ। यसको प्रस्तुती, गम्भीर्यता, लेखन शैली र सौन्दर्यले नेपाली पाठकलाई नयाँ मिठास दिनेछ।” १८ जनवरीदेखि नेपाल अनि २६ जनवरीबाट भारतीय पाठकको हातमा पुग्ने उरमालको अघिबाटै अंग्रेजी र बंगला अनुवाद शुरु भइसकेको छ।