राइजिङ स्टार इङ्ग्लिस स्कूल गाडीधुरामा वार्षिक उत्सव

IMG-20241221-WA0302

खरसाङ: खरसाङ खण्ड अन्तर्गत तराईको गाडीधुरामा अवस्थित राइजिङ स्टार इङ्ग्लिस स्कूलमा शुक्रबार दशौँ वार्षिक उत्सव एवम् पारितोषिक वितरण कार्यक्रम सम्पन्न गरियो। कार्यक्रममा मुख्य अतिथिको रूपमा खरसाङ पञ्चायत समिति सभाधिपति अनु प्रधान थिए भने अन्य विशिष्ट अतिथिको रूपमा सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जन, उपप्रधान सन्तोष तामाङ, भागोप्रमो पंखाबारी,अम्बटे, लङ्भ्यू समष्टि सचिव ललित प्रधान लगायत विद्यालयका अभिभावकहरू उपस्थित थिए। कार्यक्रममा वर्षभरि विभिन्न विधाहरूमा सहभागिता जनाउने विद्यार्थीहरू लगायत खुबै उत्कृष्ट प्रदर्शन गरेर पहिलो, दोस्रो अनि तेस्रो हुने विद्यार्थीहरूलाई विद्यालयको पक्ष‌बाट पारितोषिक वितरण गरियो। त्यसरीनै यसै अवसरमा खरसाङका क्षेत्रका साहित्य, संगीत अनि शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुऱ्याउने तीनजना समाजसेवीहरूलाई सम्मान जनाइयो। जसमा साहित्यको क्षेत्रबाट युवा कवि रचिता छेत्री, शिक्षाको क्षेत्रमा पंखाबारी उच्चत्तर माध्यमिक विद्यालयकी सहशिक्षिका सुष्मा प्रधान अनि सङ्गीतको क्षेत्रमा नेपाल आइडल, सिजन पाँचका फाइनलिस्ट गाडीधुरा निवासी सचिन विश्वकर्मालाई विशेष सम्मान प्रदान गरियो। विद्यालयकी भूतपूर्व विद्यार्थी अनुश्री रामुदामुले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले विविध रंगारग कार्यक्रमहरू पनि प्रस्तुत गरेका थिए। यस कार्यक्रममा आफ्ना व्यस्तताका कारण आफ्नो उपस्थिति दिन नसकेकोमा खेद प्रकट गर्दै पंखाबारी, अम्बटे, लङ्भ्यू समष्टि कार्यकारि सभासद कल्पना प्रधान, खरसाङ चिम्नी देउराली समष्टि कार्यकारि सभासद श्याम शेर्पा, एमओडी सभासद प्रणाम रसाइली अनि जीटीए मुख्य कार्यपाल अनित थापाले विद्यालयलाई आफ्नो शुभकामना सन्देश पठाउँदै बधाई दिए औ विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गरे।

यस अवसरमा विद्यालयका निर्देशक अनुप रामुदामुले सबैलाई स्वागत जनाउँदै विद्यालय स्थापना इतिहास र विद्यालयले हालसम्म गरेका विभिन्न उपलब्धिहरूबारे जानकारी गराए। आफ्नो सम्बोधनमा उपस्थित मुख्य एवम् विशिष्ट अतिथिहरूले विद्यालयलाई बधाई दिए औ भविष्यमा अझ यस विद्यालयले शिक्षाको क्षेत्रमा धेरै उन्नति गरेर जावोस् भनी कामना गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement