इटहरी: प्रधानमन्त्री केपी शर्मा ओलीले मानिसले आफूमा घमण्ड पस्न नदिन आग्रह गरेका छन्।
सुनसरीको इटहरीमा शनिबार नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले मानिसमा घमण्ड पसे मतिभ्रष्ट हुने बताए। आफूमा घमण्ड पस्न नदिनुहोस् घमण्ड पसिसकेपछि मान्छे मतिभ्रष्ट हुन्छ, प्रधानमन्त्री ओलीले भने, मानिसमा ज्ञान पनि छ, बुद्वि पनि छ। तर मति भएन भने मतिभ्रष्ट हुन्छ। त्यसैले मानिसमा मति हुनुपर्छ।
जेसीजले मर्यादित र शिष्टता सिकाउने गरेको भन्दै प्रशंसा गरे।
उनले शनिबार नै ध्यान दिवस परेको स्मरण गर्दै मानसिक सुगठन बनाउन योग, ध्यान आवश्यक रहेकोसमेत बताए। मानिस शारीरिक सुगठनका लागि जिम जान्छ। तर, मानसिक सुगठन बनाउन योग, ध्यान आवश्यक छ, उनले भने, जेसीजले युवा उमेरमा सक्षम बनाउन, उद्यमशीलताको विकास गर्न र रोजगारी बनाउन अभिप्रेरित गर्दछ। म प्रशंसा गर्न चाहन्छु। जेसीजले राम्रा कामको प्रकाश छरिरहेको छ।
उनले नेपालले समृद्वि हासिल गरिरहेकोसमेत बताए। एक फरक प्रसङ्गमा उनले पछिल्लो समय वातावरण क्षेत्रमा सजग हुनुपर्ने बताए। सबै कुरा चाहिने मानव जातिका लागि हो। हामीसँग हिमाल छ, हिमाल जोगाएन भने मौसम र वातावरण रहँदैन उनले भने, हिमालयका समस्याबारे बहसमा आउनुपर्ने आवश्यक छ। धर्तीकै वातावरण रहेन भने हाम्रो भविष्यप्रति सजगता हुनुपर्दछ।
ओलीले वातवावरणप्रति सजग हुनुपर्ने र समस्याको न्यूनीकरण गर्न अझै बहस आवश्यक रहेको जनाए।