३ जनवरी २०२५ मा भव्य रुपमा हुनेछ फाइनल
खरसाङ: दार्जीलिङ पहाडी भेकको क्षेत्रीय टीभी च्यानल नमस्ते खरसाङको आयोजनामा नेपाली गायन प्रतियोगिता ‘नमस्ते आइडल-२०२४’ सिजन-२ आजदेखि शुरु भएको छl यसको अडिशन अनलाइन प्रक्रियाद्वारा गरिएको नमस्ते खरसाङका प्रबन्धन निर्देशक निर्मल गुरुङले बताएका छन्l अनलाइन प्रक्रियाद्वारा १३ जना प्रतियोगी गायक-गायिकाहरू चयन भएका थिएl आज खरसाङको क्याम्ब्रिज इङ्गलिस स्कूलको हलमा यिनै १३ जना प्रतियोगीहरू माझ पहिलो चरणमा लाइभ राउण्ड सम्पन्न भएको थियोl लाइभ राउण्डमा संगीतबिना गाउनु पर्ने थियोl दोस्रो राउण्डमा ट्रयाक राउण्ड, जसमा ट्रयाकमा गाउनु पर्ने थियोl आज १० जना प्रतियोगीहरू भोलि (२२ दिसम्बर) सेमी फाइनलको लागि चयन भएको निर्मल गुरुङले बताएका छन्l

‘नमस्ते आइडल-२०२४’ सिजन-२ को फाइनल आउँदो वर्ष २०२५ को प्रारम्भ ३ जनवरीमा निक्कै तामझामका साथ भव्य रुपमा आयोजना हुने भएको छl यसमा प्रथम पुरस्कार २५ हजार रुपियाँ, दोस्रो पुरस्कार १५ हजार रुपियाँ अनि तेस्रो पुरस्कार १० रुपियाँ राखिएको छl यस प्रतियोगिताका निर्णयकहरू सुपरिचित संगीतकार तथा संगीत संयोजक उपेन्द्र प्रधान, गायिका तथा लेखिका श्रीमती प्रमिता गुरुङ अनि सुपरिचित संगीतकार तथा संगीत संयोजक महेश्वर तामाङ (आकाशवाणी खरसाङका पूर्व संगीतकार) प्रतियोगिताका ग्राण्ड मास्टर छन्l यस प्रतियोगिताको संचालन एनके समाचारका समाचारवाचक विश्व सुब्बाले गरेका थिएl

नयाँ प्रतिभाहरूको प्रतिभालाई निखार्ने साथै उनीहरूमा आत्मविश्वास र नयाँ उर्जा भर्ने यस्ता प्रतियोगिताहरू नमस्ते खरसाङले आफ्नो स्थापना कालदेखि नै गर्दै आइरहेको छl ‘नमस्ते आइडल’ गत वर्ष वर्षदेखि शुरु भएको होl ‘नमस्ते आइडलको मंचलाई आफ्नो प्रतिभालाई निखार्ने र आत्मविश्वास बढाउने मचं रहेको महेश्वर तामाङले बताएl यस्तै मंचबाट ठूला मंचहरूमा पुग्न सकिने उनले आफ्नो भनाइ राखेl अब केही दिन भित्रमा जीटीए आइडलको लागि पनि कलाकारहरु खोज्दै गाउँ गाउँमा आउने उनले बताएl नमस्ते खरसाङले यस भन्दा अघि बालबालिकाहरूका लागि ‘किड्स फेशन शो’ र नृत्य प्रतियोगिता आयोजना गरेको थियोl यस बाहेक ‘कविश्री’ प्रतियोगिता पनि आयोजना गरिसकेको छl