नयाँ दिल्ली: क्रिकेट टीमको निम्ति साल २०२४ असल रह्यो भने भारतीय ब्याडमिण्टन खेलाड़ीहरूका निम्ति चाहिँ यो साल निराशाजनक रह्यो। विशेषगरी पेरिस ओलम्पिकमा भारतीय ब्याडमिण्टन टीमको प्रदर्शन हताशाजनक रह्यो अनि भारतले कुनै पनि स्पर्धामा पदक जित्न सकेन। २०१६-को रियो ओलम्पिक र २०२०-को टोक्यो ओलम्पिकमा पदक जित्ने महिला एकल खेलाड़ी पीभी सिन्धुले पनि पेरिसमा छाप छोड़्न सकिनन् जबकि पुरुष एकलमा लक्ष्य सेन काँस्य पदक जित्नदेखि चुके। यसबीच पुरुष युगलमा सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीको जोड़ीले चाहिँ भारतीय ब्याडमिण्टनमा अमिट छाप छोड़्यो तर यस जोड़ीले पनि पेरिसमा चाहिँ सफलता हासिल गर्न सकेन। सात्विक र चिरागको निम्ति यो साल तीतो-मिठो अनुभवको साथ बित्यो कारण यस जोड़ीले २०२४-मा चारवटा टुर्नामेण्टको फाइनलमा स्थान बनाएर २ वटा खिताब जित्यो। यस प्रदर्शनले गर्दा भारतीय जोड़ीबाट ओलम्पिक पदकको आशा गरिएको थियो तर पेरिसमा क्वार्टर फाइनलमा हारको साथ अभियान समाप्त भएको थियो। एशियन गेम्सको च्याम्पियन यस जोड़ीले फ्रेञ्च ओपन सुपर ७५० र थाईल्याण्ड ओपन सुपर ५०० टुर्नामेण्टको खिताब जितेर विश्वको नम्बर एक जोड़ी बन्ने उपलब्धि पनि हासिल गऱ्यो। भारतीय जोड़ी मलेशिया सुपर १००० र इण्डिया ओपन सुपर ७५०-मा उपविजेता रह्यो तर सात्विक-चिरागको ओलम्पिक पदक जित्ने सपना चाहिँ यसपाली पनि पूरा हुन सकेन।
भारतकी पूर्व वर्ल्ड च्याम्पियन तथा २ पल्टकी ओलम्पिक पदक विजेता पीभी सिन्धूको निम्ति यो साल चरम निराशाजनक रह्यो। उनले आफ्नो कोचिंग स्टाफमा धेरै फेरबदल गरिन् अनि महान ब्याडमिण्टन खेलाड़ी प्रकाश पादुकोणको मार्गदर्शनमा अभ्यास गर्न बेंगलुरु गइन्। यति सब गरेर पनि उनको टुर्नामेण्टको शुरुवातमै बाहिर हुने क्रम जारी रह्यो। उनलाई पूरा साल फर्म र फिटनेससँग संघर्ष गरिरहेको देखियो। उनी मलेशिया मास्टर्सको फाइनलमा पुगिन् तर लगातार तेस्रो ओलम्पिक पदक जित्ने सपना चाहिँ प्री-क्वार्टर फाइनलमा हारको साथ समाप्त भयो। अन्तमा गएर यस २९ वर्षीय खेलाड़ीले आफ्नो सत्र सैयद मोदी इण्टरनेशनल टुर्नामेण्टमा खिताब जितेर समाप्त गरिन् अनि अहिलेउनी यस महिनाको अन्तमा परिणय सूत्रमा बाँधिन तयार छिन्। लक्ष्यको निम्ति यो साल औसत रह्यो। उनी पेरिस ओलम्पिकमा भारतको निम्ति एकमात्र पदक जित्ने सम्भावना थिए। सालको शुरुवातमा फ्रेञ्च ओपन र अल ईंग्ल्याण्ड च्याम्पियनशीपको सेमिफाइनलसम्म पुगेर उनले फर्म हासिल गरेका थिए अनि आफ्नो पहिलो ओलम्पिकमै पदक जित्ने आशा जगाएका थिए। त्यसपछि पेरिसमा काँस्य पदकको म्याचमा चाहिँ उनले हारको सामना गर्नु परेको थियो। त्यसपछि उनले सैयद मोदी इण्टरनेशनल टुर्नामेण्टमा खिताब जितेर सत्रको समापन गरे।