हात्ती महोत्सवमा पर्यटकलाई छुट

IMG-20241221-WA0137

भरतपुर: डिसेम्बर २६ देखि सौराहाको बाघमारा सामुदायिक वनको खुला चौरमा हात्ती महोत्सवको आयोजना गरिने भएको छ।
साथै, सो महोत्सवमा आउने पर्यटकले खाना र आवासमा १० प्रतिशत छुट पाउने भएका छन्। महोत्सवको तयारीका सम्बन्धमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा हात्ती महोत्सवमा आउने स्वदेशी तथा विदेशी पर्यटकले सो छुट सुविधा पाउने जानकारी दिइएको छ।
महोत्सव आयोजक संस्था क्षेत्रीय होटेल सङ्घ सौराहाका महासचिव गुणराज थपलियाले सौराहामा रहेका करिब डेढ सय होटेलले नै छुट दिने बताए।
सौराहाको बाघमारा सामुदायिक वनको खुला चौरमा हुन लागेको सो महोत्सवको विशेष आकर्षण हात्तीको शृङ्गार प्रतियोगिता, हात्ती वनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी प्रतियोगिता, हात्तीमैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण जस्ता कार्यक्रम रहेका छन्।
मूल समारोह समितिका संयोजक रामकुमार अर्यालका अनुसार विगत वर्षहरूमा भएका हात्ती दौड तथा हात्तीका छावाको फुटबल प्रतियोगिता यस वर्ष हटाइएको र हात्तीको पेनाल्टी, हात्तीमैत्री म्युजिकल वाकलगायतका गतिविधि भने थपिएको संयोजक अर्यालले जानकारी दिए।
यस्तै नगरपालिकास्तरीय डुङ्गा दौड प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एन्ड ट्राभल एजेन्सीसँग गोष्ठी, चितवनमा पर्यटनको सम्भावना हिजो र आज विषयक अन्तर्क्रियालाई पनि महोत्सवमा समेटिएको छ।
४० वटा विभिन्न स्टल रहने महोत्सवमा हात्तीका गतिविधिका लागि ८० वटा हात्तीलाई सहभागी गराइने तयारी छ। महोत्सव आयोजक सस्था क्षेत्रीय होटेल सङ्घका अध्यक्ष गंगा गिरीले हात्तीलाई पर्यटनसँग जोड्दा विदेशी पाहुनाहरूको बसाई लम्ब्याउन सकिने बताए। महोत्सव डिसेम्बर २६ देखि ३०सम्म सञ्चालन हुँदैछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement