इटहरी: रानी-सङ्खुवासभा-किमाथाङ्का सडक सञ्जाल जोडिएर विराटनगर महानगर पालिकाले प्रतिस्पर्धात्मक लाभ लिन सहज हुने औद्योगिक क्षेत्रका उद्योगीले बताएका छन्।
विराटनगर महानगरपालिका, नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीको आयोजनामा सम्पन्न कार्यशालामा उद्योगीले रानी-किमाथाङ्का सडक निर्माण सम्पन्न भए त्यसको लाभ विराटनगरले धेरै लिन सक्ने बताएका हुन्।
चीन-नेपाल-भारत जोड्ने उत्तरदक्षिण आयोजना रानी–किमाथाङ्का सडक राष्ट्रिय गौरवको आयोजना भए पनि यसको निर्माणमा ढिलाइ हुनु चिन्ताको विषय भएको उद्योगी बताउँछन्। नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका अध्यक्ष राजेन्द्र राउतले एसियन हाइवेमा जोडिएको नेपाल अब त्रिदेशीय सडक सञ्जालमा समेत जोडिए त्यसको लाभ विराटनगर महानगरपालिकालाई हुने बताए।
जर्मन फेडरल इन्टरप्राइजेज फर इन्टरनेसनल कोअपरेसन (जिआइजेड) को प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा विराटनगरको भौगोलिक अवस्थिति र प्रमुख व्यापारिक राजमार्ग रानी-किमाथाङका नै हुने जोड दिइएको छ। जसले सीमापार व्यापारको प्रवेशद्वारका रूपमा विराटनगर थप मजबुत हुने दाबी गरिएको थियो।
उद्योगी राउतले एसियन हाइवेसँगै रानी-किमाथाङका सडक सम्पर्क सञ्जालले भारत, चीनसँग सहज पहुँच बनाउने बताए। सुनसरी–मोरङ औद्योगिक कोरिडोरका औद्योगिक प्रतिष्ठानले देशका विभिन्न भागबाट आएका अवसरको खोजीमा रहेका कैयौँ युवालाई रोजगारी दिइरहेको बताए। सडक सञ्जालमा जोडिने हो भने यसको सम्भावना अझै धेरै हुने र अझ प्रतिस्पर्धात्मक लाभ हुने बताइएको छ। नेपालको आर्थिक विकासमा टेवा पुग्ने कतिपय योजनालाई राज्यले प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।
विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले उद्योग व्यवसाय प्रवर्धनमा स्थानीय तहले सकेसम्मको योगदान गरिरहेको बताए।