कोरोना भाइरसको महामारीसँग लडिरहेको चीनले विश्वको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स थोक बजार बन्द गर्ने निर्णय गरेको छ। यस हप्ता सोमबार चीनको टेक्नोलोजी हब भनिने शेन्जेनले थोक बजार बन्द गर्न आदेश जारी गर्यो। दक्षिणी शहरमा तीब्र गतिमा कोभिडका घटना बढ्दै गएपछि यो आदेश जारी गरिएको हो। विश्वको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स बजारको घर ह्वाकिङबेई जिल्लाका व्यापारीहरूलाई आधिकारिक आदेश जारी गरिएको छ। यस निर्णयअन्तर्गत तीव्र गतिमा फैलिरहेको कोभिडलाई रोक्नका लागि बिहीबारसम्म बजार बन्द रहनेछ। यदि चीनको सबैभन्दा ठूलो होलसेल इलेक्ट्रोनिक्स बजार लामो समयसम्म बन्द रह्यो भने त्यसको असर विश्वभरीको बजारमा पर्नेछ।
दूरसञ्चार उपकरण कम्पनी हुवावे टेक्नोलोजी, चीनको शीर्ष चिप निर्माता सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ इन्टरनेशनल कर्प र एप्पल आपूर्तिकर्ता फक्सकनलाई पनि यी नियमहरूको पालना गर्न भनिएको छ। यी सबै कम्पनीहरूले क्लोज्ड लुप प्रणालीको पालना गर्नुपर्नेछ, जसले गर्दा उत्पादन तालिका ट्र्याकमा रहन्छ। कोभिडका कारण चीनमा बन्द भएको बजारलाई प्रविधि कम्पनीहरूको घर भनिन्छ। यस बजारमा कम्प्युटर पार्टपुर्जादेखि लिएर मोबाइलका साना पार्टपुर्जा र माइक्रोचिपसम्मका हजारौं स्टल छन्। यस क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई घरबाट बाहिर निस्कन निषेध गरिएको छ। यहाँका मानिसहरु कोविड परिक्षणका लागि मात्र घरबाट बाहिर निस्कन पाउँछन्। यस क्षेत्रका सबै व्यवसाय बिहीबारसम्म बन्द गरिएको छ। यहाँ सुपर मार्केट, फार्मेसी र अस्पतालहरू मात्र खुला रहन सक्छन्। यस बाहेक सबै पसलहरु समेत बन्द गरिएको छ। रेस्टुरेन्ट निलम्बित छ। मानिसहरूले टेकअवे मात्र लिन सक्छन्। यदि चीनको यो बजार लामो समयसम्म बन्द रह्यो भने यसले विश्वभरको प्रविधि बजारलाई असर गर्छ।











