रुसमा आणविक बलका प्रमुख इगोर किरिलोभको हत्या आरोपमा एक जना पक्राउ परेका छन्। रुसी छानबिन समितिका अनुसार उज्वेकिस्तानका २९ वर्षीय अभियुक्तमाथि छानबिन भइरहेको छ। उनको नाम भने सार्वजनिक गरिएको छैन। अभियुक्तले आफ्नो कसुर स्वीकार्दै आफूलाई युक्रेनी जासुसी संयन्त्र (एसबीयु)ले काममा लगाएको जानकारी दिएको रुसको दाबी छ। रुसी राजधानी मस्कोस्थित आफ्नो अपार्टमेन्ट बाहिर मंगलबार बिहान विद्युतीय स्कुटर विष्फोट गराएर किरिलोभको हत्या गरिएको थियो। विष्फोटमा उनका एक सहयोगीको पनि मृत्यु भएको थियो। युक्रेनी अदालतले एक दिन अघि मात्रै किरिलोभलाई प्रतिबन्धित रासायनिक हतियार प्रयोगको मामिलामा दोषी ठहर गरेको थियो। पछिल्ला चार महिनामा मारिने किरिलोभ तेस्रो वरिष्ठ रुसी सैन्य अधिकारी हुन्।