३१ अगस्तः अफगानिस्तान एशिया कप २०२२-को सुपर फोर राउण्डमा पुग्ने पहिलो टीम बन्यो। मंगलवार राति बंग्लादेशलाई ७ विकेटले पराजित गर्नको साथै अफगानिस्तानले यस उपलब्धिलाई हासिल गऱ्यो। बंग्लादेश विरुद्ध मुजीब-उर-रहमान र राशिद खानले स्पिन बलिंगको चमत्कारी नमूना पेश गरेपछि नजीबुल्लाह जादरान र इब्राहिम जादरानले असल ब्याटिंग गरेर टीमलाई यादगार जीत दिलाए। अफगानिस्तानले यसअघि श्रीलंकालाई पनि सजिलै पराजित गरेको थियो। शाजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिंग गर्ने बंग्लादेशले २० ओभरमा ७ विकेट गुमाएर १२७ रन मात्र बनाउन सक्यो। अफगानिस्तानका स्पिनरहरूले शुरुदेखि नै विकेट हासिल गरी बंग्लादेशलाई चेपारोमा पारे। ईनिंग्सको ११औं ओभरमा स्कोर ५३ पुग्दासम्म त ५ विकेटको पतन भइसकेको थियो। मुजीबले शीर्ष तीन ब्याटर मोहम्मद नईम (६), अनामूल हक (५) र कप्तान शाकिब अल हसन (११)-लाई आउट गरेपछि बंग्लादेशले रन रेटलाई बढ़ाउन सकेन। त्यसपछि राशिदले मुशफिकुर रहीम (१), अफीफ होसेन (१२) र अनुभवी महमुदुल्लाह (२५)-को विकेट हासिल गरे। अन्ततिर मोसाद्देक होसेनले अविजित ४८ रन बनाएर बंग्लादेशलाई सम्मानजनक स्कोरसम्म पुऱ्याए।

जवाफमा अफगानिस्तानले नीडर ब्याटिंग गर्दै ९ बल बाँकी रहँदै ३ विकेटमा १३१ रन बनाएर जीत हासिल गऱ्यो। अफगानिस्तानको ईनिंग्समा नजीबुल्लाह र इब्राहिमको ब्याटिंग मुख्य आकर्षण रह्यो। नजीबुल्लाहले १७ बलमा ६ वटा छक्का र एउटा चौकाको सहायताले अविजित ४३ रन बनाए। यसरी नै इब्राहिमले ४१ बलमा चारवटा चौकाको सहायताले अविजित ४२ रन बनाए। यी दुईबीच चौथो विकेटको निम्ति ६९ रनको अटूट साझेदारी भयो। यी दुईबाहेक हजरतुल्लाह जाजाईले २३, रहमनुल्लाह गुरबाजले ११ अनि कप्तान मोहम्मद नबीले ८ रन बनाए।