गान्तोक: सोरेङ जिल्ला अन्तर्गत रिन्चेनपोङ समष्टिको श्रीबदामस्थित केबी लिम्बू वरिष्ठ माध्यामिक विध्यालयको कौस्तुभ जयन्ती समापन कार्यक्रम आज विभिन्न गतिविधिसहित समापन भयो। गत ११ दिसम्बरदेखि पालन गरिएको कौस्तुभ जयन्तीको समापन कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले यस विद्यालयको स्थापनाको ७५औं बर्षगाँठको अवसरमा विद्यालयका प्रबन्धन समितिलाई हार्दिक बधाई तथा शुभकामना दिए। यस विद्यालयमा योगदान पु-याउने सबैको प्रशंसा गर्दै मुख्यमन्त्रीले शिक्षाको महत्वमाथि प्रकाश पारे। “शिक्षा मानव जीवनको मेरुदण्ड हो भन्दै शिक्षालाई अधिक प्राथमिकता दिएर वर्तमान सरकारले काम गरिरहेको किटान गरे। एसकेएम सरकार आउनुभन्दा अघि शिक्षक शिक्षिकाहरूले केवल एडहकमा मात्र काम गर्ने वातावरण रहेको तर आज सबै एडहक शिक्षकहरूलाई प्रोबेशनरी बनाइएको र ४ बर्ष पुरा गरेका र योग्यता पुरा गरेका शिक्षकहरूलाई स्थायीकरण गर्ने योजना बनाएको जानकारी गराए। गेजिङ जिल्लामा लथाथिङ अवस्थामा रहेको गेजिङ कलेज, सिक्किम विश्वविद्यालय लगायत अन्य शैक्षिक पूर्वाधारहरूको निर्माण गर्ने कार्य आश्वासन दिँदै यसका साथै विभिन्न योजना मार्फत विद्यार्थीहरूका निम्ति अनेकौं योजनाहरू तयार पारिएको जानकारी गराए। यस अघि गरीबका छोराचोरीले पढ्ने इच्छा राखेता पनि आर्थिक अभावको कारणले पढने अवसर पाएका थिएनन् तर वर्तमान सरकारले उनीहरूको सपना पुरा गर्दै आइरहेको अवगत गराए।

एमबीबीएस लगायत अन्य उच्च शिक्षा अध्ययन गर्न चाहने गरीब परिवारका विद्यार्थीहरूलाई मुख्यमन्त्री शिक्षा सहायता योजना मार्फत सहयोग गर्दै आएको बताए। श्रीबदामसित आफ्नो प्रगाढ सम्बन्ध रहेको जनाउँदै मुख्यमन्त्रीले रिन्चेनपोङ र मानेबुङ देन्ताम समष्टिमा सबैभन्दा अधिक युवावर्गले सरकारी नोकरी पाएको दावी गरे। रिन्चेनपोङ समष्टिमा गर्नुपर्ने आवश्यक विकासीय कार्यहरू निश्चित रूपमा गर्ने प्रतिवद्वता जाहेर गर्दै मुख्यमन्त्रीले प्रत्येक हप्ताको तीनदिन जनतासित भेट गर्ने बताए। मुख्यमन्त्रीले एसकेएम पार्टीको सरकारमा गरीब भन्दा गरीब जनताको छोरा छोरी पनि उच्च पदमा पुग्न सक्नेछन् भन्दै एसकेएम सरकारमा गरीबको दिन फर्केको उल्लेख गरे। पूर्व सरकारमा यस्तो अवस्था नरहेको तर एसकेएम सरकारले सबैलाई बराबर हक र अधिकार दिलाउन सक्षम बनेको किटान गरे। अहिले आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) को आधुनिक समयमा आफूले आफैलाई स्मार्ट राख्नुपर्ने र एक्सपोजर हुनुपर्ने आवश्यक्तामा जोर दिंदै मुख्यमन्त्रीले लिडरसीप तालिम गराइने सरकारको योजना रहेको प्रकाश पारे। चिफ मिनिस्टर मेन्टरसीप कार्यक्रम र मुख्यमन्त्री कोचिङ शिविर शुरू गरेको उल्लेख गर्दै विद्यार्थीहरूले यसको लाभ उठाउनु पर्ने आग्रह गरे। उनले प्रसङ् फेर्दै राज्यका गम्भीर रोगका बिमारीहरूलाई राज्य सरकारले राज्य बाहिरका नामी अस्पतालहरूमा लगेर उपचार गराउने कार्य सरकारले गरिरहेको पनि मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा अवगत गराए। आफ्नो सम्बोधनको अन्तमा मुख्यमन्त्रीले स्थानीय जनताको पक्षमा क्षेत्र विधायक र स्कूलको पक्षबाट राखिएका विभिन्न मागहरूलाई सरकारले पुरा गर्नको निम्ति पहल गर्ने आश्वासन दिए। पश्चिम सिक्किमका विभिन्न स्थानहरूलाई पर्यटक गन्त्व्य स्थल बनाउने योजनाको उल्लेख गर्दै यस क्षेत्रमा एक वृहत पर्यटन उत्सव आयोजन गर्न सुझाव दिए।