गान्तोक: लोकसभा सांसद इन्द्रहाङ सुब्बाले आज केन्द्रीय शिक्षा राज्यमन्त्री डा सुकान्त मजुमदारसँग भेट गरे। दिल्लीस्थित केन्द्रीय मन्त्रीको कार्यालयमा भएको उक्त भेटमा सांसद सुब्बाले सिक्किम विश्वविद्यालयमा लोपोन्मुख भाषा केन्द्रको लागि कोष जारी गर्ने अनुरोध गरे। लोकसभा सांसद सुब्बाले पूर्वी हिमालय क्षेत्रका लोपोन्मुख भाषाहरूको संरक्षण र प्रवर्द्धनको लागि यस केन्द्रले महत्वपूर्ण कार्य गर्न सक्ने भएकोले केन्द्र सरकारको तर्फबाट तत्काल कोष जारी गर्ने अनुरोध गरे। आफ्नो माग राख्ने क्रममा सुब्बाले विश्वविद्यालय अनुदान आयोगको तत्वावधानमा २०१६ मा स्थापना भएदेखि केन्द्रले गरेका उपलब्धिहरूमाथि प्रकाश पारे। केन्द्रले भुजेल, मगर, गुरुङ, शेर्पा र राईजस्ता लोपोन्मुख भाषाहरूको अभिलेखीकरण र संरक्षणमा उल्लेखनीय प्रगति गरेको जानकारी गराएका थिए। यसका साथै, यसले क्षेत्रको अमूल्य भाषिक सम्पदाको संरक्षणमा भारतको पहिलो लोपोन्मुख भाषा अभिलेख, सिक्किम-दार्जीलिङ हिमालय लोपोन्मुख भाषा अभिलेख विकास गरेको उल्लेख गरे। सांसद सुब्बाले यूजीसीबाट कोष बन्द गरिएकोमा चिन्ता व्यक्त गर्दै यसले केन्द्रको कामलाई जोखिममा पारेको बताए। उनले केन्द्रको जारी अनुसन्धानलाई निरन्तरता दिन र यस क्षेत्रका जोखिममा रहेका अन्य भाषाहरूलाई समेट्ने परियोजनाको लागि वित्तीय सहयोगको आवश्यकतामाथि जोड दिए। शिक्षा राज्यमन्त्री डा. मजुमदारले सांसद सुब्बालाई यस विषयमाथि तुरुन्तै समीक्षा गरिने आश्वासन दिएका थिए। डा. सुब्बाले आफ्ना मागमाथि सकारात्मक सहयोगको लागि केन्द्रीय मन्त्रीलाई धन्यवाद दिए।