रुसको स्वास्थ्य मन्त्रालयले मंगलबार आफ्नो अनुसन्धान टोली क्यान्सरको खोप बनाउन सफल भएको घोषणा गरेको छ। यो जानकारी रूसी स्वास्थ्य मन्त्रालयको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका निर्देशक आन्द्रेई काप्रिनले रेडियोमा दिएका हुन्। रुसी समाचार एजेन्सी टासका अनुसार यो खोप अर्को वर्षदेखि रुसी नागरिकलाई नि:शुल्क दिइनेछ। निर्देशक आन्द्रेईले रुसले क्यान्सर विरुद्धको आफ्नै एमआरएनए खोप विकास गरेको बताए। रुसको यो खोजलाई शताब्दीकै सबैभन्दा ठूलो खोज मानिएको छ। खोपको क्लिनिकल परीक्षणहरूले देखाएअनुसार यसले ट्युमरको वृद्धि रोक्न मद्दत गर्दछ। यस वर्षको शुरुमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस क्यान्सरको भ्याक्सिन बनाउने प्रयासमा सफलताको नजिक पुगेको बताएका थिए। सरल भाषामा भन्दा जब कुनै भाइरस वा ब्याक्टेरियाले हाम्रो शरीरमा आक्रमण गर्छ, एमआरएनए प्रविधिले हाम्रो कोशिकाहरूलाई त्यो भाइरस वा ब्याक्टेरियासँग लड्न प्रोटिन बनाउन सन्देश पठाउँछ। यसबाट, हाम्रो प्रतिरक्षा प्रणालीलाई आवश्यक प्रोटिन प्राप्त हुन्छ र हाम्रो शरीरमा एन्टिबडीहरू बन्छन्। एमआरएनए प्रविधिले परम्परागत खोप भन्दा छिटो खोप बनाउन सक्छ र यही यसको सबैभन्दा ठूलो फाइदा हो। यसका साथै एमआरएनए प्रविधिबाट शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि दह्रो हुन्छ। यो क्यान्सर खोप एमआरएनए प्रविधिमा आधारित पहिलो खोप हो।