अबको समय धनले होइन जनले नै केही गर्नसक्छ, सन्तान चाहिन्छ: अनित थापा
खरसाङ: खरसाङ नगरपालिकाको वार्ड नम्बर १० को बुद्धग्राम सुरभि परिवार कल्याण समितिको नवनिर्मित भवन आज उदघाटन गरिएको छ। सार्वजनिक भवनको विधिवत उद्घाटन जीटीएको प्रमुख कार्यपाल अनित थापाले एक कार्यक्रम बीच गरे। उद्घाटन कार्यक्रमलाई सम्बोधनमा राख्दै अनित थापाले भने, संघ-संस्था र समाज बचाउन अति नै जरुरी छ। यस्ता सामाजिक भवनमा नानीहरूलाई संस्कारी बनाउने कार्यक्रम पनि राख्नुहोस्। थापाले गोर्खा समाजमा जनसंख्या घट्दै गएको सन्दर्भ झिक्दै भने, तपाईंहरूको समाजमा 58 जना सदस्य रहेछन् तर परिवारमा हेर्नु हो भने नानीहरू धेरै कम्ती छन्। यदि परिवारमा नानीहरू नै छैनन् भने समाज कसरी बचाउन सकिन्छ? परिवार बढाउनु होस्, यो आजको आवश्यकता हो। यो जनचेतना सबैमा फैलाउनु पनि होस। थापाले अझ भने, मैले मेरो नानीहरू, भाञ्जा-भाञ्जी सबैलाई भनेको छु कि प्रत्येकको पाँचजना नानीहरू हुनु पर्नेछ।

अबको समयमा धनले होइन जनले नै केही गर्नसक्छ। पैसा रुपियाँले मात्र हुँदैन, सन्तान चाहिन्छ। त्यसैले हामीले सन्तान वृद्धिमाथि जनचेतना जगाउनु नै पर्छ। कार्यक्रममा गाउँ समाजका प्रतिनिधिहरू, भागोप्रमो नेतृत्ववर्गको उपस्थिति रहेको थियो।