गान्तोक: पश्चिम सिक्किमको सोरेङ जिल्ला अन्तर्गत रिन्चेनपोङ समष्टिको सुल्डुङ काम्लिङ खेल मैदानमा आज सम्पन्न राज्य स्तरीय बाराहीमिजोङ समारोहमा मुख्य अतिथिको आशनबाट सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यवासीहरू, विशेषगरि मगर समुदायमा पर्वको हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले बाराहीमिजोङ पर्व आगामी २०दिसम्बरको दिन भएपनि सो दिन सबैले आफ्नै घरमा बसेर पारम्परिक तौर तरिकाले मनाउन् भनी आजयस कार्यक्रमको आयोजना गरिएको स्पष्ट पारे।
उनले प्रत्येक जातिका पर्वहरू अब केही अघि वा पछि मनाइने बताउॅंदै युवावर्गलाई आफ्नो परम्परा र पर्वहरूबारे बुझाउन यो पर्व यसरी राज्यस्तरीय रूपमा आयोजना गरिएको बताए। उनले आफु विधायक रहँदाको समय बाराहीमिजोङ पर्व यसै सुल्डुङ काम्लिङ मैदानमा मनाउन शुरू गरिएको पनि अवगत गराएका थिए। उनले विश्वभरि छरिएर बसेका मगर समुदायलाई सम्मान जनाउन आफु यो कार्यक्रममा उपस्थित बनेको उल्लेख गरे।
मुख्यमन्त्रीले यो क्षेत्रसित आफ्नो आत्मियता रहेको उल्लेख गर्दै सुल्डुङ काम्लिङको विकास हुनुपर्ने कुरामा जोड दिदै सबै जातिले स्वतन्त्र रूपले बोल्न पाउनुपर्छ र वर्तमान सरकारले सबै जात जतिलाई पूर्ण स्वतन्त्रता प्रदान गरेको पनि बताए। उनले आज सिक्किममा साम्प्रदायिक सद्भाव रहेको दाबी गर्दै उनले पूर्व सरकारले विभाजन गरेर शासन चलाउने गरेको आरोप लगाए। सबै जाति समुदायलाई आ-आफ्नो पर्वमा आफ्नो भेष भूषा लगाउन आह्वान गर्दै मुख्यमन्त्रीले आफ्नो जातीय परम्परा र संस्कृतिलाई बिर्सन नहुने बताए।
उनले सोरेङ जिल्लाको मगरजुङ मङसारीमा मगर जातिको धरोहर निर्माण भइरहेको जानकारी गराउॅंदै सुल्डुङमा मगर जातिको पारम्परिक घर निर्माण गर्न आह्वान गरे। मुख्यमन्त्रीले सुल्डुङ गाउॅं पर्यटक गन्तव्य बन्न सक्ने अत्यधिक सम्भावना रहेको बताउॅंदै सरकार यहॉं मगर गाउॅं शैली होमस्टे हब बनाउन प्रतिबद्ध रहेको बताए।
मगर संघद्वारा राखिएका विविध मागहरूलाई लिएर सरकारले पहल गर्ने मुख्यमन्त्रीले आश्वासनसमेत दिए। जोरथाङ माघे मेलालाई नागाल्याण्डको हर्नबिल समारोह जस्तै भव्यताका साथ मनाउन आह्वान गर्दै सबैलाई सो मेलामा उपस्थित भइदिन पनि मुख्यमन्त्रीले आह्वान गरेका छन्।