गान्तोक: राज्यका मुख्य सचिव भीबी पाठकको अध्यक्षतामा आज टाशीलिङ सचिवालयमा १६औं वित्त आयोगका अधिकारीहरूको सिक्किम भ्रमण तयारीलाई लिएर एक सभा सम्पन्न भयो। मुख्य सचिव पाठकको अध्यक्षतामा बसेको सभामा शिक्षा विभागका अतिरिक्त मुख्य सचिव आर तेलाङ, डीजीपी एके सिंह लगायत विभिन्न विभागका प्रमुखहरू साथै लाइन विभागका अधिकारीहरू पनि उपस्थित रहेका थिए। आज बसेको सभामा मुख्य सचिवले विशेष गरेर १६औं वित्त आयोगका १३ जना सदस्यहरू आगामी १९ देखि २२ जनवरीसम्म भ्रमण गर्ने कार्यक्रम रहेको बताए। यसका साथै सभामा उनीहरूको सिक्किम भ्रमण अवधिमा पर्ने खर्च लगायत अन्य विषयमा पनि छलफल गरिएको बताइएको छ। उनीहरूलाई बस्ने, खाने, यातायात व्यवस्था साथै अन्य विषयमा चर्चा परिचर्चा गरियो। उनीहरूको सिक्किम भ्रमणलाई स्मरणीय बनाउनको निम्ति विभिन्न प्रकारको गतिविधि आयोजना गर्नको निम्ति समिति गठन गरियो।