प्रशान्त राष्ट्र भानुआटुमा मंगलबार शक्तिशाली भूकम्प गएको छ। भूकम्पले राजधानी पोर्ट भिलामा भवनहरू ध्वस्त भएका छन् र यसमा विदेशी दूतावासहरूले प्रयोग गरेको भवन पनि समावेश छ। अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार ७.३ म्याग्निच्युडको भूकम्प ५७ किलोमिटरको गहिराइमा भानुआटुको मुख्य टापु एफेटको तटबाट करिब ३० किलोमिटर टाढा स्थानीय समयानुसार दिउँसो १२:४७ बजे गएको थियो। केही मिनटपछि ५.५ म्याग्निच्युडको पराकम्प आएको थियो। त्यसपछि ससाना कम्पनहरू आए। भूकम्पले तीन लाख २० हजार जनसंख्या भएको कम–उचाइको यो द्वीप समूहलाई भूकम्प–संवेदनशील प्रशान्त रिम अफ फायरमा हल्लायो। पोर्ट भिलामा अमेरिका, फ्रान्स, इङ्गल्याण्ड, अस्ट्रेलिया र न्युजिल्याण्डको कुटनीतिक मिशनद्वारा प्रयोग गरिने चार तले कंक्रिट भवनको भुइँ तला पूरै भत्किएको एएफपीका फोटोहरूले देखाएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका समाचारअनुसार, अमेरिकी र फ्रान्सेली दूतावासका कर्मचारीहरू सुरक्षित रहेका दुवै देशले बताएका छन्। अमेरिकाले अर्को सूचना नआउन्जेलसम्म आफ्नो दूतावास बन्द गरेको छ। फ्रान्सले आफ्नो मिशन ‘नष्ट’ भएको बतायो। ‘शहरका भवनहरूमा मानिसहरू छन्। हामी त्यहाँबाट हिँड्दा त्यहाँ शवहरू थिए’, सामाजिक सञ्जालमा विनाशका तस्बिर पोस्ट गरेपछि स्थानीय बासिन्दा माइकल थम्पसनले स्याटेलाइट फोनबाट भने, ‘एउटा सडकमा भएको भूस्खलनले एउटा बसलाई ढाकेको थियो, त्यसैले त्यहाँ स्पष्ट रूपमा केही मृत्यु छन्।’ थम्पसनले कूटनीतिक भवनको भुइँ तला ध्वस्त हुनुका साथै भूकम्पले कम्तीमा दुईवटा पुल पनि खसाएको र अन्य भवनहरू पनि भत्किएको बताए।