खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको ३९ जना सभासदहरु पाँच दिने व्यवस्थापन विकास कार्यक्रममा भाग लिन मुर्शिदाबाद प्रस्थान गरेका छन्। पाँच दिने आवासीय व्यवस्थापन विकास कार्यक्रममा (म्यानेजमेन्ट डेभलपमेन्ट प्रोग्राम) भाग लिनु जीटीएका ३९ जना कार्यकारिणी साथै एमओडी सभासदहरु मुर्शिदाबाद प्रस्थान गरेका छन्। उनीहरूको तालिम आवासीय रहनेछ। मुर्शिदाबादस्थित म्यानेजमेन्ट डेभलपमेन्ट इन्स्टिच्युटमा तालिम सम्पन्न हुनेछ। उक्त तालिम १८ दिसम्बरदेखि २२ दिसम्बरसम्म हुनेछ। जीटीए प्रमुख अनित थापाले प्रस्थान हुन अघि कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै भने, “जीटीए प्रशासनले प्रशासनलाई प्रभावशाली बनाउन प्रशासन चलाउने सभासदहरूको कौशल विकासमा लगानी गर्नु पर्ने आवश्यकता बोध गरेपछि ने यस्ता तालिमको लागि पठाइएको हो। उनले भने, ‘हाम्रा सभासदहरु भुइँफुट्टा सभासद होइनन् तर प्रशिक्षित प्रशासक बनुन। प्रशासन, अनुभव अनि शक्तिले मात्र होइन, व्यवस्थापनका सिद्धान्त अनि रणनीतिले झन प्रभावशाली ढंगमा चलाउनु सकिन्छ। त्यसैले शुरुवाती कदममा प्रबन्धन सम्बन्धि अल्पकालीन तालिम दिनु सभासदहरुलाई पठाइएको हो।”

मुर्शिदाबाद प्रस्थान हुनु अघि सभासद अनोस थापाले भने, “हाम्रो नेता अनित थापा, प्रशासन सिस्टमले चलाउँनुपर्छ भनेर हामीलाई दैनिक रूपमा भन्नुहुन्छ। यस तालिमले हामीलाई सिस्टम बुझ्नु सजिलो पार्नेछ। हामी नाला झोडाको विकासदेखि माथि उक्ली सकेका छौँ। हाम्रो कार्य कौशललाई अझ छरितो बनाउन हामी पाँच दिने तालिम लिनु गईरहेका छौं। यो तालिमले हाम्रो सोच अनि काम गर्ने तरिकामा अवश्य परिवर्तन ल्याउनेछ।”
तालिम केन्द्रबाट उपलब्ध भएको तालिम मोड्युल अनुसार सभासदहरुलाई नेतृत्व विकास, ग्रामीण विकास, बिजिनेस रणनीति, वित्तीय व्यवस्थापन, डिजिटल मार्केटिङ, निर्णय लिने प्रक्रिया आदि विषयमा तालिम दिइनेछ। तालिम केवल कक्षाभित्र मात्र नरहेर फिल्डमा पनि लगेर विषयहरूको ज्ञान दिइनेछ। म्यानेजमेन्ट डेभलपमेन्ट इन्स्टिच्युट, मुर्शिदाबाद देशकै मानी लिएको बिजिनेस स्कूल हो।