सिलगढी: भुटानी ट्रकहरू सुविधा पोर्टलमा दर्ता नगरी भारत-बंगलादेश सीमानाबाट निर्वाध रूपमा आवतजावत गरिरहेको आरोप छ। यो आरोप लगाउँदै फुलबारी ट्रक ओनर्स एसोसिएसन, एक्सपोर्ट एसोसिएसन र ड्राइभर एसोसिएसनले फुलबारी नाकामा ४८ घण्टाको धरणामा भाग लिए। मंगलबारदेखि यी तीन संगठन एकजुट भएर आन्दोलनमा उत्रेका हुन्। राज्य सरकारको निर्देशनअनुसार भारतीय ट्रकले सामान बोकेर सीमा पार गर्दा ट्रक चालकले सुविधा पोर्टलमा दर्ता गराउनुपर्ने र केही रकम कर तिर्नु पर्नेछ। तर भुटानका ट्रकमा यो नियम नभएकाले कर नतिरेर खुलेआम सीमा नाघेको उनीहरुको गुनासो छ। प्रशासनले अनुगमन नगरेको भन्दै यहाँबाट अतिरिक्त सामान ओसारपसार गर्ने संस्थाको गुनासो छ। यी सबै आरोपमा तत्काल कारबाही हुनुपर्ने माग राख्दै आन्दोलन गरिरहेको बताइएको छ।