तेस्रो टेस्ट म्याच बचाउन भारतको संघर्ष जारी

IMG-20241217-WA0179

ब्रिसबेन: भारतले वर्षाले वाधा पुऱ्याएको तेस्रो क्रिकेट टेस्ट म्याचमा अष्ट्रेलियाविरुद्ध हारको संकटलाई टार्न आफ्नो संघर्ष जारी राख्यो। अष्ट्रेलियाले आफ्नो पहिलो ईनिंग्समा बनाएको ४४५ रनको जवाफमा भारतले मंगलवार चौथो दिनको खेल समाप्त हुँदासम्म आफ्नो पहिलो ईनिंग्समा ९ विकेटमा २५२ रन बनायो। आज खराब मौसमले गर्दा चाँड़ै खेल समाप्त हुँदासम्म आकाश दीप २७ र जसप्रीत बुमराह १० रन बनाएर खेलिरहेका थिए। भारत एक समय २१३ रनमा ९ विकेट गुमाएर फलोअन-को सम्मुखीन हुने संकटमा परेको थियो तर आकाश दीप र बुमराहले अन्तिम विकेटको निम्ति ३९ रनको अटूट पार्टनरशीप गरी भारतलाई बचाए। अब केवल एक दिनको खेल बाँकी छ अनि अष्ट्रेलियाले फेरि ब्याट गर्नु पर्ने हुनाले भारतसँग म्याच बचाउने मौका रहेको छ। यसबाहेक गाबाको मौसम पनि भारतको पक्षमा रहेको छ। अष्ट्रेलियालाई आज आफ्नो प्रमुख पेस बलर जोश हजलवुडको कमी अनुभव भयो, जो चोटले गर्दा तेस्रो टेस्टसहित सम्भवत पूरा सीरीजबाट बाहिर भएका छन्। यसैकारण कप्तान प्याट कमिन्स र मिचेल स्टार्कले अधिकांश बलिंग गर्नु पऱ्यो। यसमा कमिन्सले ४ र स्टार्कले ३ विकेट हासिल गरे। भारतको निम्ति मंगलवार शुरुमै जीवनदान पाउने केएल राहुलले सर्वाधिक ८४ रन बनाए। उनले १३९ बल खेलेर ८ वटा चौका लगाए। यसबाहेक अलराउण्डर रविन्द्र जडेजाले ७७ रन बनाए। उनले १२३ बल खेलेर ७ वटा चौका र एउटा छक्का लगाए। राहुल र जडेजाले मिलेर छैटौं विकेटको निम्ति ६७ रनको पार्टनरशीप गरे। यसरी जडेजाले नितिश कुमार रेड्डीसँग सातौं विकेटको निम्ति ५३ रन जोड़े। रेड्डीले १६ रनको योगदान दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement