ब्रिसबेन: जसप्रीत बुमराहले अष्ट्रेलियामा जारी टेस्ट सीरीजमा अतिरिक्त दबाउको कुरालाई खारेज गरे। यसको साथमा उनले टीम अहिले बद्लाउको चरणमा रहेको अनि अनुभवी खेलाड़ी भएको नाताले अतिरिक्त जिम्मेवारी उठाउनु उनको कर्तव्य रहेको बताए। गाबामा जारी तेस्रो टेस्ट म्याचमा बुमराहले ६ विकेट हासिल गरे पनि अष्ट्रेलियाले टस हारेर पहिला ब्याटिंग गर्दै आफ्नो पहिलो ईनिंग्समा ४४५ रन बनायो। जवाफमा भारतले वर्षावाधित तेस्रो दिनको खेल समाप्त हुँदासम्म ४ विकेटको नोक्सानमा ५१ रन बनायो। यसले गर्दा ब्याटरहरूका तक्निक र बुमराहलाई छोड़ेर अन्य बलरहरूका स्तरलाई लिएर प्रश्न उठ्न थालेको छ। बुमराहले भारतीय ब्याटरहरूका फर्मबारे भने, एउटा टीमको रूपमा हामी एकार्कामाथि प्रश्न उठाउँदैनौ। हामी त्यस मानसिकतामा जान चाहँदैनौ जहाँ एकार्कामाथि औंली उठाइन्छ। हामी एउटा टीमको रूपमा बद्लाउको चरणमा रहेका छौं। नयाँ खेलाड़ी आइरहेका छन् अनि क्रिकेट खेल्नको निम्ति यो सबैभन्दा सजिलो स्थान होइन। अष्ट्रेलियामा खेल्नु सदा चुनौतीपूर्ण हुन्छ।अष्ट्रेलियाविरुद्ध जारी सीरीजमा १८ विकेट लिइसकेका बुमराहले भने, बलिंग एकाईको रूपमा हामी बद्लाउको चरणमा रहेका छौं अनि साथी बलरहरूलाई सहायता गर्नु मेरो कर्तव्य हो। मैले अन्य पेस बलरहरूभन्दा अधिक क्रिकेट खेलेको छु। यसैकारण म उनीहरूलाई सहायता गर्ने कोशिश गर्छु। हामी सबै सिक्ने प्रयास गरिरहेका छौं अनि समयको साथ प्रदर्शनमा सुधार आउनेछ। क्रिकेटको इतिहासमा यस्तो पहिलोपल्ट भएको होइन। युवा बलरहरूले समय र अनुभवको साथ सिक्नेछन्।